'हर टर्न'लाई विश्वव्यापी पुरस्कार
नेपाली संस्था 'हर टर्न'ले यसवर्षको ‘विथ एण्ड फर गल्र्स अवार्ड’ प्राप्त गरेको छ ।
बुधबार बेलायतको लण्डनमा आयोजित कार्यक्रममा 'हर टर्न'की कार्यकारी निर्देशक अनिता थापाले पुरस्कार ग्रहण गरेकी छन् । यो संस्थाले सिन्धुपाल्चोक र गोर्खा जिल्लाका बालिकाहरुमा उमेर नपुगी गरिने विवाह, बेचबिखन रोकथाम, सुरक्षित जीवनयापनजस्ता क्षेत्रमा काम गर्दै आएको छ ।
बालिका हितका लागि सक्रिय स्थानीय संस्थालाई सहयोग गर्ने उद्देश्यले बेलायतको स्टार्स फाउन्डेसनले विभिन्न संस्थाहरुको सहयोगमा ‘द विथ एण्ड फर गल्र्स अवार्ड’ अभियान सुरु गरेको हो । पुरस्कार अन्तर्गत हर टर्नले अमेरिकी डलर १५ हजारसमेत पाएको छ । विश्वका पाँच महादेशबाट चार वटाका दरले २० संस्थालाई प्रदान गरिने यो अवार्डको फरक विधामा नेपालका वुमन लिड र शक्ति समूहले पनि पुरस्कार जितेका छन् ।
स्टार्स फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत मुना वेबे पुरस्कृत संस्थाहरुले बालिका भएकै कारण संसारभर विभेदमा परेकाहरुको जीवनस्तर सुधार्न गरेको काम वास्तवमै प्रशंसनीय काम गरेको बताउँछिन् ।
“अवार्डमार्फत थोरै रकमको यो सहयोगले अरु थुप्रै सहयोगी संस्थाहरुलाई हातेमालो गर्न आग्रह गरेको छ”, फाउन्डेसनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
तस्बिर: उमा विष्ट/स्टार्स फाउन्डेसन