हेलिकप्टर भाडामा लिएर सुत्केरीको उद्धार
तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृह पु¥याइएको बिरामीका आफन्त सन्त गुरुङले बताए ।
आइतमायालाई माउन्टेन एअरको हेलिकप्टरबाट आज दिउँसो काठमाडौँ लगिएको हो । “रु एक लाख ३० हजार भाडा तिरेर हेलिकप्टर भाडामा लिएका हौँ,” गुरुङले भने– “छरछिमेक, आफन्तले पैसा जुटाएका हुन् ।” आइतमायाको श्रीमान् माइला पदयात्रामा गएका छन् ।
स्थानीय स्वास्थ्य संस्थाले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौैँ लगिएको हो । गुम्दा गाउँसम्म सडकको ट्र्याक खुलेको भए पनि भनेका बेला जिप चल्दैनन् । सदरमुकामदेखि गुम्दा पुग्न करिब एक दिन जिपको यात्रा गर्नुपर्छ ।
दुर्गम क्षेत्रमा गतिलो स्वास्थ्य सेवा नहुँदा स्थानीयवासीले ऋण खोजेर हेलिकप्टरमार्फत सुत्केरी गराउन अन्यत्र लानुपर्ने बाध्यता छ । रासस