एन्फा निर्वाचन र नेतृत्वसँग अपेक्षा
- नवीन पाण्डे
दुई दशकदेखि एउटै व्यक्तिको कब्जामा रहेको अखिल नेपाल फूटबल संघ (एन्फा)मा नयाँ नेतृत्वका लागि निर्वाचन हुनु मात्र पनि फूटबललाई माया गर्नेहरुका लागि ठूलो उपलब्धि हो। यसबाट एन्फालाई व्यक्तिगत सम्पत्तिका रूपमा दुरुपयोग गर्न खोज्ने प्रवृत्तिमा केही हदसम्म भए पनि धक्का लागेको हुनुपर्छ।
तर, निर्वाचन हुँदैमा फूटबलको द्रुततर विकास हुन्छ त? पक्कै हुँदैन। विकास त नयाँ नेतृत्वमा भर पर्छ। उसको नेतृत्व क्षमतामा निर्भर हुन्छ। अहिलेसम्मका उपलब्धिलाई निर्वाचित नेतृत्वले कसरी अगाडि बढाउँछ भन्ने कुराले निर्धारण गर्छ। फूटबल विकासका लागि चाहिने इच्छाशक्तिसँगै आगामी कार्यक्रम, विधान संशोधन तथा विश्व फूटबल महासंघ (फिफा) को निर्णय कार्यान्वयन एन्फाका मुख्य चुनौती र अवसर हुन्। एन्फाको भविष्य यिनै कुराले निर्धारण गर्नेछ।
निर्वाचनको खेल
एन्फा निर्वाचन हुनु नै महत्वपूर्ण भएको अवस्थामा निर्वाचनमा भएका गलत पक्षबारे चर्चा गरिनु कतिपयका लागि असान्दर्भिक लाग्न सक्छ। तर, निर्वाचन जित्नकै लागि नरेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले जस्तो रणनीति अपनाएको देखियो, त्यसले सही भन्न मिल्दैन। उदाहरणको लागि, टासी घलेलाई चुनावको एक दिन अघि मात्र मानार्थ अध्यक्ष घोषणा गर्नु, कतिपय क्लबहरुसँग लेनदेनका कुरा बाहिर आएको छ। यस्ता कुराले फूटबल विकासलाई पक्कै हानि पुर्याउनेछ। सजिलो कुरा त, अबको एन्फाको विदेश भ्रमणमा कसको छनोट गरिनेछ भन्ने कुराले पनि अस्वस्थ अभ्यास पुष्टि गर्न पर्याप्त हुनेछ।
अहिलेका लागि एन्फाको संरचनालाई परिवर्तन गरी सुशासन, सामूहिक नेतृत्व, आर्थिक पारदर्शिता तथा शक्तिलाई विकेन्द्रीकरण गर्नुपर्छ भन्ने पक्ष पराजित भएका छन्। तर, यो शक्तिले आफूलाई दह्रो प्रतिस्पर्धीको रुपमा स्थापित गर्न सक्नु पनि चानचुने कुरा होइन। एन्फाको सुन्दर भविष्यका लागि यो शक्तिले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
सत्य हो, पुरानै 'स्कूलिङ'बाट आएकाहरु पुनः नेतृत्वमा छन्। यसबाट नयाँ कुरा आश गर्नेहरु निराश हुनु अस्वाभाविक होइन। तर, हिजोभन्दा निराशाको मात्रा कम भएको भने सत्य हो। नेतृत्वले पूर्वाग्रहविना फूटबल शुद्धीकरणको मुद्दालाई अघि बढाउन सके, भ्रष्टाचारमा चुर्लुम्म डुबेर नेपाली फूटबलमाथि घात गर्नेहरुको इशारा बेवास्ता गर्न सके, नेपाली फूटबलमा नयाँ बिहानी आउने सम्भावनालाई कसैले रोक्न सक्तैन।
सबैभन्दा प्रष्ट कुरा अबको एन्फा फिफाले कारबाही गरिसकेका पूर्व अध्यक्ष गणेश थापाकै निर्देशनमा चल्छ/चल्दैन? नयाँ नेतृत्वले यसको स्पष्ट जवाफ दिनुपर्छ। स्वयं प्रमाणित गर्नुपर्छ। नत्र नयाँ नेतृत्वबाट केही आशा गर्न सकिंदैन।
एन्फाले सबैभन्दा पहिले राजनीति र खेललाई दुई भागमा विभाजन गरेर हेर्नुपर्छ। फूटबल विकासको लागि सक्षम सम्भावित प्राविधिक निर्देशकमा उपेन्द्रमान सिंह, एपीएफका कुमार थापा जस्ता व्यक्तिहरुको पहिचान गरी काम गर्ने वातावरण मिलाउनुपर्छ। निर्वाचनमा हार्ने, जित्ने मिलेर फूटबल शुद्धीकरणको अजेण्डा स्थापित गर्न सक्नुपर्छ। व्यक्तिगत लाभ र आफ्नाहरूको हित नहेरी फूटबललाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।
(पाण्डे फूटबल विश्लेषक हुन्।)