राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य, नागरिक अभिनन्दन हुने
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुवास घाम्रीसहित ६० जना सम्मिलित रहेका छन् ।
प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव अमिपा पललगायत छन् ।
पराराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् ।
यसैबीच काठमाडौँ महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई १८ कात्तिकमा नागरिक अभिनन्दन गर्ने भएको छ ।
भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ महानगरपालिकाले १८ कात्तिक दिउसो करिब ४ बजे राष्ट्रसभागृहमा नगरको साँचो हस्तान्तरण गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो यहाँ आउँदै छन् ।
महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले काठमाडौँ महानगरमा विशिष्ट व्यक्तिलाई कुनै पनि बेला आउनका लागि स्वागत छ भनेर साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको जानकारी दिए ।
राष्ट्रपति मुखर्जीलाई काठमाडौँको प्राचीन महत्व झल्कने खालका उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको महानगरपालिकाले जनाएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई दृष्टिगत गरी भ्रमणको सम्भावित मार्गमा महानगरपालिकाले विशेष सरसफाइ अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था महाशाखा प्रमुख रवीनमान श्रेष्ठले बताए ।