पर्व सुरक्षा
तिहारलाई बत्ती अर्थात् झिलिमिलीको पर्व समेत भनिन्छ। त्यसकारण पनि घरको रङरोगन, सज्जामा विशेष ध्यान दिइन्छ। फूल, बत्ती र रंगोली सजावटका खास सामग्री हुन्।
इन्टेरियर डिजाइनर कल्पना भट्टचन पर्वका बेला सजावटका सामान सरसफाइमा बढी नै ध्यान दिनुपर्ने बताउँछिन्। “दिनहुँ जसो सफा नगरिने सिलिङ, बेड तथा फर्निचरलाई सकेसम्म बाहिर निकालेर पुछपाछ, धोइपखाली गर्नुपर्छ”, उनी भन्छिन्। बत्ती, झ्याल, ढोका तथा सिसालगायतका सजिलै नभेटिने ठाउँ पनि पर्वका बेला चिटिक्क पारिन्छ।
पूरै घर सफा गरिसकेपछि ढोकाको छेउ, बार्दलीमा फूलका गमला राख्न सकिन्छ। टेबलमा कट फ्लावरसहितको भेस सुहाउँछ। सयपत्री, गोदावरी, मखमली फूलको माला घडामा लगाएर, ढोकामा राखेर पनि सजाउने गरिन्छ। ठूला भाँडामा पानी भरेर फूलका थुङ्गाले सजाउँदा घरको सुन्दरता निखार्छ। आँगन र प्यासेजमा रंगोली बनाएर पनि घर मनमोहक बनाउन सकिन्छ।
सतर्कता
घरघरको दीपावलीले तिहारको रौनक बढाउँछ। पहिलेपहिले दियो र रंगीविरङ्गी मैनबत्तीले झिलिमिली हुने घर अचेल विद्युतीय बत्तीहरूको उज्यालोको भर पर्न थालेको छ। दियोको तेल पोखिने सम्भावना भएकोले स–साना प्लेट राख्नु उपयुक्त हुन्छ। प्लेटको रूपमा बिरुवाका पात पनि राख्न सक्छौं।
इन्टेरियर डिजाइनर भट्टचन बालबालिका ओहोरदोहोर गर्ने ठाउँभन्दा टाढा र ढोकाको अलिपर दियो बाल्दा सुरक्षित हुने बताउँछिन्। दियो पर्दा, काठका सामान नभेट्ने गरी बाल्नुपर्छ। उज्यालोका लागि दियोसँगै मैनबत्ती, झल्लर, माला बत्तीको पनि प्रयोग गरिन्छ। रंगोली बनाउँदा तिहारभरि नमेटिने गरी बनाए पटकपटकको झन्झटबाट छुटकारा मिल्छ।
तेलको बत्ती बाल्दा भुईंमा चिल्लो पोखिन सक्ने हुनाले टेक्दा लड्ने खतरा हुन्छ। त्यसैले दियो बत्ती बालेको ठाउँ दिनहुँ सफा गर्नुपर्छ। तेलको चिल्लो हटाउन पहिला नूनले घोट्नुपर्छ अनि सर्फ र पानीले सफा गर्नुपर्छ।
तिहारमा विद्युतीय बत्तीको कारोबार धेरै हुन्छ। विद्युत् व्यवसायी महासंघ नेपालका अध्यक्ष तेजनारायण खरेलका अनुसार तिहारको समयमा झल्लर, माला बत्तीलगायतका दीपावली बत्तीको प्रयोग बढी हुन्छ। दक्ष मिस्त्रीको अभावमा धेरैजसोले आफैं दीपावली बत्ती राख्ने गरेको तर बत्तीको फिटिङमा ध्यान नपुर्याएका कारण थुप्रै दुर्घटना भएको खरेल बताउँछन्। “लुज कनेक्सन भएको, सर्ट भएका सामानले दुर्घटना गराउँछन्। त्यसैले ज्यादा मसिनो भन्दा अलि मोटो तार भएको सामान रोज्नुपर्छ”, उनी भन्छन्।
सविता श्रेष्ठ