शेयर बजार २२.२२ अंकले उकालो, एक अर्ब बढीको कारोबार
आज शेयर बजार २२.२२ अंकले उकालो लागेको छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
विकास ब्यांक र वाणिज्य ब्यांकतर्फ लगानीकर्ता आकर्षित हुँदा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो ।
आज नेप्से परिसूचक १.७७ प्रतिशतले उकालो लाग्दा ब्यांकिङ समूह २.६७ प्रतिशत र विकास ब्यांक समूह २.४६ प्रतिशतले उकालो लागेको छ ।
कारोबार शुरु भएदेखि बढेको बजारमा कारोबार समयभर १७३ कम्पनीको एक अर्ब सात करोड बराबरको शेयर किनबेच भएको छ ।
सूचीकृत कम्पनीले सार्वजनिक गरिरहेको वित्तीय विवरणमा नाफा बढेकोले शेयर बजार उकालो लागेको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।
उनले भने, “ब्रोकर कार्यालयमै पुगेर ब्यांक तथा वित्तीय संस्थाले शेयर कर्जा दिन मार्केटिङ गर्न थालेका छन् । ब्याजदर पनि घटेको छ । यसले लगानीकर्ताको मनोबल बढेको छ ।”
आज सबैभन्दा बढी प्रभु ब्यांकको आठ करोड ५१ लाख बराबरको शेयर खरीद बिक्री भएको छ ।
गोरखा फाइनान्सको मूल्य सबै भन्दा धेरै ४.५४ प्रतिशतले ओरोलो लाग्यो, भने भागर्भ विकास ब्यांकको मूल्य ९.८२ प्रतिशतले बढ्यो ।
‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स २.२४ प्रतिशतले उकालो लाग्दा अन्य बाहेकका सबै उपसूचक पनि उकालो लागेका छन् ।