टिप्पणी सोमबार, कात्तिक १५, २०७३

नेपाली जुवा

पुराना जमानामा काशीमा एकथरी नेपाली लेखकहरू हुन्थे नेपाली प्रकाशकहरूका लागि ‘अर्डर सप्लाइ’ गर्ने । उनीहरूको कामै हुन्थ्यो प्रकाशकले भनेका विषयमा पुस्तक तयार पारिदिने ! यस्ता ‘अर्डर सप्लायर’ हरूमा पूर्वकालका हाम्रा केही प्रखर भाषासेवी श्रद्धेय महामना पनि पर्छन् । आदरपूर्वक नाम लिंदा– उदाहरणार्थ हामीले आशुकवि शम्भुप्रसादलाई सम्झ्निुपर्छ । अनि पद्मप्रसाद उपाध्याय, रामप्रसाद सत्याल इत्यादिको नाम लिनुपर्छ ।

हुन त शिखरनाथ सुवेदी पनि त्यस्तै प्रकारका किताबहरू लेखी तयार पार्थे तर कुनै प्रकाशकको अर्डरमा होइन । उनी आफैं प्रकाशक थिए । गोर्खाली राजाका नेपाली रैती कुन बेला कस्ता पुस्तक पढ्न चाहन्छन् भन्ने कुराको हेक्का राखिराखेका हुन्थे यी प्रकाशकहरूले । उनीहरूको कमाउने बाटै त्यही थियो । कैलेकैले कुनै प्रकाशकले केही नयाँ कुरा बजारमा ल्यायो र त्यो निकै बिक्यो भने अरू प्रकाशकहरू पनि त्यतै धुरिन्थे, आ–आफ्ना लेखकहरूलाई त्यस्तै प्रकारका पुस्तक तयार पारिदिन अर्डर दिइहाल्थे उनीहरू ।

काशीका प्रकाशक र लेखकहरूको यस लेखको विषयवस्तुसँग के सम्बन्ध ? भन्ने लाग्यो होला पढ्नेहरूलाई । पैले त्यही खुलाऊँ । काशीका नेपाली प्रकाशकहरू भानुभक्त र मोतीराम भट्ट जस्तालाई पनि छाड्दैनथे यस्ता कुरामा । उदाहरणार्थ भानुभक्तको सातकाण्डी रामायणलाई समेत ‘आठकाण्डी’ बनाएर कुन–कुन प्रकाशकले पैसा कमाए त्यो मदन पुरस्कार पुस्तकालय (मपुपु)को पुस्तक–सूची हेरे मात्र पनि बुझन सकिन्छ । हामीले नेपाली जुवाको कुरा गर्दा यति सबै ‘अनावश्यक’ भूमिका किन जोड्नुपथ्र्यो भन्ने पाठकहरूलाई परेको होला । पैले त्यही बताइहालूँ । जुवाका बारेमा नेपाली भाषामा सबभन्दा पहिले कलम चलाउने को रहेछ भनेर खोज्दै जाँदा हाम्रा युवाकवि मोतीराम भट्ट देखा परे । १९४४ वैशाखमा उनले ‘पञ्चक प्रपञ्च’ लेखे नेपाली जुवाको प्रशंसा (भत्र्सना) गर्दै । २० वर्ष पनि बित्न पाएको थिएन, १९६१ सालमा पुण्यप्रसाद उपाध्याय (प्रकाशक) ले उसै नामको अर्को काव्य प्रकाशित गरिदिए आशुकवि शम्भुप्रसादलाई लगाएर ऊभन्दा तीनगुना ठूलो (१०३ श्लोकको) ।

मोतीरामले यतिसम्म मात्र भन्न सकेका थिएः

“जूवाको कति दोष् रहेछ कति गुण् बुद्धी भया रोजनू ।
जस्ले खेल्छ उ हार्छ निश्चय झुटो साँचो स्वयम् बूझनू ।।
गाली गर्नुहवस् बरू म सहुँला अप्सोस् नमानी रती
जुन् जूवाकन खेलि श्रेय नहुन्या क्या खेल्नु घूँडा धसी ?”

तर, आशुकवि यसरी कुर्लिएः

‘पञ्चक् आयो दुनीञा सकल खुशि भया ध्यान भो एकतर्फी ।
पैसा मोहर्हरूले असल अकबरी साटिया धेर् असर्फी ।।
जित्छू पक्का म यो साल् भनिकन हुनगो दाम साचीन लागे ।
डेढो ब्याज् तिर्न पक्का गरिकन जन सब् दाम ऋण् लीन लागे ।।
रिस नलिइ कसैले चित्तमा राखि याद
बुझिलिनु छ घटीया खेल भारी फसाद ।।
अतिसय गरिदीन्या चित्तलाई प्रमाद
सुजनहरू नखेलून् भन्छ शम्भुप्रसाद ।।”

पुरानाका पुस्तकको कुरामा अब एउटा मात्र थपूँ– १९९१ सालमा प्रकाशित कविशिरोमणि लेखनाथको ‘लक्ष्मीपूजा ।’ नामले लक्ष्मी र पूजासँग जोडिए पनि वास्तवमा त्यो नाटक राणाकालको उपत्यकाको जुवासँग सम्बन्धित थियो । उसै बेला मञ्चन हुँदा पनि त्यो अत्यन्त लोकप्रिय भएर महीना दिनसम्म चलेको थियो । राणाकालीन नेपाल (खास गरेर तिहारका पाँच दिन पञ्चकमा यो खाल्डो, तीनशहर)भित्र जुवा कसरी ‘फुक्थे’ र कसरी खेलिन्थे त्यो बुझनु परे ऐतिहासिक हिसाबले समेत आधिकारिक ग्रन्थ यही हुनेछ । नखशीख वर्णन छ ‘लक्ष्मीपूजा’ मा नेपाली जुवाको । भनूँ भने जुवाको खालमै बसेको अनुभव हुन्छ त्यो पुस्तक पढ्दा । मलाई त त्यस्तै लाग्छ ।

अरूहरूले गरेका जुवाको वर्णन छाडेर अब आफ्नै अनुभव सुनाऊँ अलिकति नेपाली जुवाको, मेरो बाल्यकालको, अनि यो जुवाको प्रकारण टुङ्ग्याऊँ । नेपालमा जुवा भनेपछि एउटै हुन्थ्यो उहिले उही पञ्चकको पाँचदिन । जुवाप्रेमी महाराज जुद्धशमशेरले आफ्नो राज्यकालमा वर्षैभरि तीन–चार पटक खुशियाली मनाउन जुवा फुकाए पनि अरू बेला त्यस्तो भएन । जुद्धशमशेरले त मछिन्द्रनाथको भोटो देखाउने दिन पनि २४ घन्टा पुल्चोक–जाउलाखेल इलाकामा जुवा फुकाइदिन्थे । अझ् अंग्रेजले दोस्रो विश्वयुद्ध जित्दा समेत उनले तीन शहरमा जुवा फुकाएका थिए– दुई पटक एक–एक दिन । यो मैले नै देखे भोगेको कुरा हो, यद्यपि त्यसले मलाई छुँदैनथ्यो, किनभने मैले जुवा खेल्न कैल्यै जानिनँ र सिकिनँ पनि । तर, मैले नजाने पनि, नखेले पनि, बताउनैपर्छ यहाँ– पञ्चकको जुवा हामी ‘मणिहरूको’ घरमा बडो भक्तिभावले श्रद्धापूर्वक मनाइन्थ्यो । ‘खेलिन्थ्यो’ होइन, मनाइन्थ्यो ।

लक्ष्मी पूजाका दिन महालक्ष्मीको पूजा गरी, देउसे र भैलेनीहरूलाई बिदा गरिसकेपछि खाना खाइन्थ्यो अनि ‘जुवा खेलिन्थ्यो’ पूजाकै एक अङ्ग जस्तो गरेर ! तास, कौडा या पासा त्रिपासामध्ये कुनै एउटा साधन रोजिन्थ्यो । छुनै पथ्र्याे सबैले त्यो जुवाको अंगलाई धार्मिक वस्तु सरह । एक दुई पैसा मात्र भए पनि जुवा खेल्नै पथ्र्यो परिवारका प्रत्येक सदस्यले जितहार हुने गरी । धार्मिक कृत्य थियो त्यो लक्ष्मीमाताको आरती या पुष्पाञ्जली गरेजस्तै । खाल बस्न नसक्ने केटाकेटीले सिज ‘च्याँखे’ थापेर खेल्थे, छूट पाउँदैनथे, तर लक्ष्मीपूजाको राति मात्र । घरका ‘ठूलाबडा’ भने पाँचै दिन जुवा खेल्थे, धैरै जसो कौडा हानेर, ‘छरुवा’ । घरका महिलाहरू चाहिं तास खेल्थे, फुट्टी गन्ने ‘सत्र’ खेल ।

अन्त्यमा, लेखको शुरुतिर फर्कूं । त्यहाँ लेखिएको छ पुरानो जमानामा केही नेपाली लेखकहरू प्रकाशकहरूका लागि ‘अर्डर सप्लायर्स’ को काम गर्थे भनेर । मलाई ऐले लाग्दैछ म पनि त्यस्तै ‘अर्डर सप्लायर’ लेखक बन्दैछु कि क्या ! यही लेख हेरूँ न, मैले यो हिमाल का सम्पादकजीको आदेशानुसार लेखेर बुझएको हुँ, तिहार अंकका लागि राणाकालको ‘नेपाली जुवा’ ।

प्रतिकृया दिनुहोस