समाचार शुक्रबार, असोज ५, २०७५

ट्यांकर चालकको हडतालका कारण राजधानीमा इन्धन अभाव, पेट्रोलपम्पमा लामो लाइन

रामु सापकोटा

गएको १ भदौदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा चालकलाई तोकिएको जेल सजाय विरुद्ध ट्यांकरसहितका चालकहरूको विरोधका कारण राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर नचलेपछि राजधानीका अंधिकाश पेट्रोलपम्प बन्द छन्। खुलेका सीमित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ । पम्प छेउमा सवारी साधनको भीड बढेसँगै उपत्यकाका कतिपय स्थानका अवरोध भएको छ ।

ट्यांकर चालकहरूले गत बुधबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध गरेका हुन् ।

अपराध (संहिता) ऐनको दफा १६१ को उपदफा १ मा ज्यान मार्ने मनसाय लिई दुर्घटना गराए जन्मकैद हुने प्रावधानको विरोध स्वरूप चालकहरूले सवारीसाधन चलाउन बन्द गरेका हुन् ।

नेपालबाट भारतमा तस्करी
पछिल्लो समय नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी हुने क्रम बढेको छ । भारतको प्रभात खबर पत्रिकाले नेपालबाट इन्धन तस्करी गरेर बिहारमा बिक्री हुने गरेको समाचार प्रकाशन गरेको छ । समाचार अनुसार, सीमाक्षेत्रका नेपाली पम्पहरूबाट इन्धन तस्करी हुने क्रम बढ्दा सीमाक्षेत्रका भारतीय पेट्रोल पम्पहरू सञ्चालन हुन सकेका छैनन् ।

भारत भन्दा नेपालमा सस्तोमा पेट्रोलियम पदार्थ पाइने भएकोले तस्करी भइरहेको जनाइएको छ । नेपालमा प्रतिलिटर भारु ५३ मा पाइने डिजेल भारतमा ७३ भारुमा बिक्री हुने गरेको छ । यस्तै, नेपालमा प्रतिलिटर ६६ देखि ६८ भारुमा पाइने पेट्रोल भारतमा ८३ देखि ८४ पर्ने गरेको छ ।
खुला सिमानाका कारण भइरहेको पेट्रोलियम पदार्थको तस्करीका कारण भारतका रक्सौल, सितामढी र मधुवनी लगायतका क्षेत्रका पेट्रोल पम्पको बजार ५० प्रतिशत घटेको पत्रिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस