टिप्पणी आइतबार, कात्तिक १४, २०७३

तिहारका तीन फूल

हिमालखबर

डा. तीर्थबहादुर श्रेष्ठ

फुलाई फूल फुलन धरती आकाश ओर्ली आउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला।

दशकौं पहिलेदेखि मेरा कानमा गुञ्जने यी गीतका गेडाहरू तिहारको बेला भएपछि सयपत्री, मखमली र गोदावरी फूलका रूपमा साक्षात् बनेर हाम्रा बारी–बगैंचामा फुल्न थाल्छन्।

सयपत्री

सयपत्रीः अफ्रिकन 'मेरिगोल्ड'

सयपत्री फूलका सुनौला मालामा घर, आँगन, चोक, बजार मात्र होइन, काग, कुकुर, गाई, गोरु, आफ्नै देह (म्ह) एवं दाइ/भाइ तथा देवी लक्ष्मी पनि गाँसिन पुग्छन्। तिहारको माहोललाई मनमोहक सिंगार्न हाम्रा आफ्नै बारी र बगैंचाका उत्पादनले मात्र नभ्याएर छिमेकी देश विदेशबाट समेत सयपत्रीका फूलहरू ठूलो परिमाणमा भित्र्याउने गरेका छौं। 

तिहारको संस्कृतिमा मौलाएका सयपत्री फूल आज–भोलि सर्वव्यापी, सर्वकालीन पुष्पसामग्री बनिसकेको छ। सभा, गोष्ठी, स्वागत, विदाइ, सम्मान, अभिनन्दन मात्र हैन श्रद्धाञ्जलीमा समेत सयपत्रीले आफ्नो आधिपत्य जमाइसकेको छ। यसलाई बाह्रैमास फुलाउने हाम्रा सिपालु शिल्पी मालीहरू बधाईका पात्र हुन्। यसको सर्वाधिक खपत हुने बेला भने तिहार नै हो। यसपालिको तिहारमा सयपत्री फूलको आन्तरिक आकृति र तिनका अन्तरवस्तुतिर पनि नियालौं भन्ने इच्छाले प्रेरित छु।

नामले सयपत्री भनिए तापनि एउटै भेट्नोमाथि फक्रेको यस फूलको प्रत्येक पत्र स्वयंमा पृथक् फूल हो। त्यस अर्थमा सयपत्री फूल सयौं फूलको पुष्पपुञ्ज हो। सयपत्रीलाई छोड्याई, कोट्याई गर्‍यौं भने सयौ स–साना पुष्पिकाहरू सजिलै छुट्टिन्छन्। फूलको मध्यभागमा खाँदिएर बसेका र छेउ किनारतिरका पुष्पिकाहरू भिन्नै खालका हुन्छन्। मध्य भागका पुष्पिकाको फेदमा अण्डाशय हुन्छ। त्यसमाथिको पातलो सुइरो स्त्री जननेन्द्रिय हो। त्यस वरिपरि पाँच वटा पुंकेशरका पराग कोषहरू तैनाथ हुन्छन्। पुंकेशर र स्त्रीकेशरका यी अवयव पातलो पुष्प तरेलीको जामा भित्र हुन्छ। पुष्प तरेलीको मुख पाँच भागमा काटिएर खुलेको हुन्छ। यी अवयव हेर्न एउटा साधारण आईग्लास भए पुग्छ। सयपत्रीको एउटै पुष्पिकामा भाले र पोथी दुवै जननेन्द्रिय मौजूद हुन्छन्। त्यस अर्थमा यो पूर्ण पुष्पको एक रूप हो, जसलाई वनस्पति विज्ञानले फूलको संज्ञा दिन्छ। वनस्पतिशास्त्रले बिरुवाको जननेन्द्रिय अवयवलाई फूल भन्छ।

फ्रेञ्च 'मेरिगोल्ड'

हरेक फूललाई शिवलिङ्गको प्रतिमूर्ति मान्न सकिन्छ जहाँ 'सत्यम् शिवम् सुन्दरम्' प्रस्फुटन हुन्छ। हिन्दूहरूका आराध्यदेवको रूपमा प्रतिष्ठापन हुने सबै शिवलिङ्गमा पार्वतीको यौनाङ्ग मानिने पीठिकाको मुख उत्तर दिशा फर्किएको हुन्छ। हिमालय पर्वतकी छोरी पार्वती भएकोले उत्तर दिशामा हिमालतिर फर्केको वा फर्काइएको भन्ने जनविश्वास छ। वस्तुतः प्रत्येक फूल सृष्टिको आधार हो र ती आराध्य छन्। 

हामी सयपत्री फूलको प्रसंगमा छौं। यस फूलको बाहिरी घेरामा रहेका पत्रहरू पनि आफैंमा पृथक् फूल हुन्। सूर्य किरण झैं फैलने हुनाले ती पुष्पिकालाई 'रे फ्लोरेट' भनिन्छ। यी किरणी पुष्पिकामा पोथी जननेन्द्रिय मात्र हुन्छ। अरू फूलहरूबाट कीटपतङ्गका माध्यमबाट पराग प्राप्त गर्न यी पुष्पिका रंग–विरंगमा सजिएका हुन्छन्। सयपत्री फूलको मुख्य आकर्षण यिनै किरणी पुष्पिका हुन्।

अनेकौं थरीका सयपत्री अर्थात् मेरिगोल्ड विश्वबजारमा सजिलै पाइन्छ। नेपाली तिहारलाई सिंगार्ने सयपत्रीका फूलहरू दुई समूहमा छुट्याउन सकिन्छ। सानो कदको, सानै फूल फुल्ने र सजिलै माला उन्न मिल्ने तथा फूल पनि नर्झ्ने, नओइलाउने र रंग पनि नखुइलिने सयपत्रीहरू फ्रेन्च मेरिगोल्ड समूहमा पर्छन्। यस समूहका सयपत्री फूलका बाहिरी पुष्पिका फैलिएर फक्रन्छन्। तसर्थ यिनको वैज्ञानिक नाम पनि 'टागेटिस पाटुला' पर्न गएको छ। 'पाटुलस' को ल्याटिन अर्थ फैलनु हुन्छ। सयपत्री फूलहरू गाढा चम्किलो रंगमा विशेष गरेर सुन्तले पहंेलोमा गाढा कलेजी वा रातो रंगमा सजिएका हुन्छन्।

ठूलो खाले सयपत्री फूललाई सामान्यतः अफ्रिकन मेरिगोल्ड भनिन्छ। पुष्पबजारमा यिनको वैकल्पिक नाम अमेरिकन मेरिगोल्ड पनि हो। यिनका फूलहरू डल्लो आकारमा फक्रन्छन्। सुन्तले वा फिका पहेंलो रंगमा यी सयपत्री फुल्दछन्। बिरुवा पनि अग्लो हुने भएकोले यसको वैज्ञानिक नाम 'टागेटिस इरेक्टा' पर्न गएको छ। 'इरेक्टा' शब्दले ठाडो र अग्लो भन्ने बुझाउँछ। सयपत्रीको जातीय नाम 'टागेटिस' प्राचीन रोमको एक दैविक अवतार 'टागेस्' बाट जुरेको विश्वास गरिन्छ।

तिहारको फूलः मखमली

सबैखाले सयपत्रीको उद्गम थलो संयुक्त राज्य अमेरिकाको दक्षिणी भूभाग, मेक्सिको तथा दक्षिण अमेरिकी महादेश हो। ती क्षेत्रमा १५ प्रजातिका सयपत्री भेटिए पनि रूप, रंग, गुण र स्वभावले गर्दा स्पेनी अन्वेषकहरूले दुई प्रजातिलाई यूरोप पुर्‍याएका थिए। त्यतैबाट सयपत्रीले विश्वका विभिन्न देश विदेशमा प्रवेश पायो। नेपालमा कसरी र कहिले यी फूल आए भन्ने भरपर्दो आधार भेटिएको छैन। हाम्रो संस्कार र संस्कृतिभित्र परापूर्वकालदेखि गहिरो सम्बन्ध गाँसेर बसेको यो अतिथि फूललाई अब संस्कृति फूल नै भन्नु पर्ला। 

मखमली
दक्षिण अमेरिकी महादेशको ब्राजिल, पानामा र ग्वाटेमाला क्षेत्रबाट भित्रिएको अर्को अतिथि फूल मखमली पनि हाम्रो संस्कृति फूल हो। नेपाल भित्रिएको यसको इतिहास पनि सयपत्री सरह अतीतमा विलाएको अवस्थामा छ। दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपाली तिहारको अभिन्न अंग बनिसकेको छ।

सुपारी जस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैं सयौं फूलको पुष्पपुञ्ज हो। पुष्पपुञ्जका सबै फूलमा भाले र पोथी अवयव हुन्छन्। तिनको सूक्ष्म रूप हेर्न पनि आईग्लास आवश्यक पर्छ। प्रत्येक सूक्ष्म फूलसँग एउटा कत्ला (ब्राक्ट) जोडिएको हुन्छ। त्यही कत्लामा निहित हुन्छ– सौन्दर्यमय रंग र त्यसको चमक।

कत्लाहरूको पुञ्जबाट मखमली फूल बनेको हुन्छ। नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ। वैजनी र प्याजी रंगमा मखमली विशेष लोकप्रिय छ। नर्झ्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन्।

मखमली फूल सयपत्री भन्दा पृथक् 'एमारान्थेसी' वानस्पतिक परिवारमा पर्छ। उक्त परिवारमा हामीले खाने लट्टे र बगैंचामा फुल्ने कुखुराको सिउर जस्तो फूल आदि पर्छन्। वनस्पति जगतमा मखमलीलाई 'सिलोसिया ग्लोबोसा' भनिन्छ। 'ग्लोबोसा' शब्दले डल्लो भन्ने जनाउँछ। त्यसैले मखमलीलाई नेपाल भाषामा ग्वे स्वाँ (सुपारी फूल) भनिन्छ।

गोदावरी

गोदावरी।

तिहारको रोमाञ्चकारी पुष्प वैभवमा गोदावरी फूलको विशिष्टता बेग्लै छ। यो बिरुवा पनि सयपत्री फूलकै परिवारभित्र पर्ने भएकोले गोदावरीका प्रत्येक पुष्पतरेली एक पृथक् फूल हुन आउँछ, वनस्पति विज्ञानको दृष्टिमा। यिनै पुष्पतरेलीका आपसी सामञ्जस्यमा गोदावरीले अरू फूलको सौन्दर्यलाई उछिन्ने गरेको छ। कुनै हिउँका डल्ला जस्तो, कुनै चम्किला तारा जस्तो, कुनै भने सुन्दर अभिनेत्रीका केश सज्जा झैं विभिन्न बान्कीमा घुम्रेका, कुनै भर्खर पानीबाट बाहिर निस्केको राजहाँसको प्वाँख जस्तो आदित्यादि। 

गोदावरी फूलको सौन्दर्य विश्वमा सम्मानित छ। जुन फूललाई हामी गोदावरी भन्छौं, त्यसलाई इस्लामिक संसारमा गुलदाउदी भनिन्छ। धर्मगुरु दाउदको नाममा यो समर्पित छ। यूरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत अन्यत्र यसको प्रचलित नाम हो क्रिसान्थेमम। ग्रीक भाषामा 'क्रायोस' भनेको सुन वा सुनौलो र 'एन्थेमोन' को अर्थ फूल हो। त्यस अर्थमा सुवर्ण फूल हो गोदावरी। तर, गोदावरी अनेकौं रंग र आकारमा फक्रिन्छ। यस फूललाई विश्वमा 'नोभेम्बर फ्लावर' पनि भन्ने चलन छ।

इसापूर्व १५औं शताब्दीमा गोदावरीलाई बगैंचामा फुलाएर यसको इतिहास रच्ने श्रेय चीनलाई जान्छ। त्यसपछि आठौं शताब्दीमा यसले जापानलाई दिवाना बनायोर राजकीय सम्मान प्राप्त गर्‍यो, राष्ट्रिय फूल बन्यो। जापानी सम्राटको राजगद्दीलाई 'क्रिसान्थेमम थ्रोन' भन्ने चलन छ। यता चीनमा गोदावरी फूलकै नाममा शहरहरू नामकरण भएका छन्, जस्तो– जु–जियाङ। अमेरिकाको शिकागो शहरको आधिकारिक पुष्प पनि गोदावरी हो। नेपाली पुष्पप्रेमीहरूले भने आफ्नो पुण्यस्थल गोदावरीकै नामबाट यस फूललाई सम्मान गरे। गोदावरी, गोदावरी फूल र गोदावरी राष्ट्रिय वनस्पति उद्यान नेपाली तिहारको पुष्पभूमि पनि हो। १२ कात्तिक २०१९ मा गोदावरीमा शाही वनस्पति उद्यानको उद्घाटन समारोहलाई फुलाउने श्रेय गोदावरी फूललाई नै जान्छ।

गोदावरी फूलको उद्गमस्थल एशिया नै हो। उत्तरपूर्वी यूरोपमा पनि यसका केही प्रजाति पाइन्छन्। गोदावरीलाई आफ्नो कल्पनामा फुलाउन आवश्यक ज्ञान, विज्ञान, सीप र प्रविधि तथा लगनशीलताको विकास भने चीन र जापानले गरे। गोदावरीको प्रख्याति विश्वभरि फैलिएको छ। मानव संवेदनाको उच्च आदर्श झ्ल्काउन सेतो गोदावरी फूलको अहं भूमिका हुन्छ। जापान, कोरिया, चीन, फ्रान्स, इटाली र पोल्याण्डमा सेतो गोदावरीको फूल दिवंगत आत्माको चिरशान्ति कामनामा श्रद्धा स्वरूप चढाउने चलन छ। सेतो गोदावरी फूल बाग, बगैंचा र उद्यानका उच्चतम शोभा भए पनि उपहारमा आदानप्रदान गरिंदैन। अरू रंगका गोदावरीले तिहारमै पनि होली रचाउँछ। 

अन्त्यमा, तिहारको मौसम, धरती फुलेको बेला छ। आकाशमा नीलो ओर्लिरहेको अवस्था छ। हिमालको मोहनीले सबै मुग्ध छन्। वन, बाग र बगैंचामा पक्षीहरू गाइरहेका छन्। कवि ईश्वर बल्लभको सपना भनौं वा रचना त्यो सबै हाम्रो तिहारमा साकार हुन्छ। अनि त्यहाँ नातिकाजी तरंगित हुन्छन् र तारादेवी फेरि हाम्रो कानमा गुञ्जन थाल्छिन्–

फुलाई फूल फुलन धर्ती आकाश ओर्ली आउला...

यो वर्ष ईश्वर, नातिकाजी र तारादेवीलाई सयपत्री, मखमली र गोदावरी फूलको श्रद्धाञ्जली अर्पण गर्दै सबै पाठकको आँगनमा तिहारको धरती फुलोस्, फलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
तस्वीरहरूः तिमिला श्रेष्ठ

प्रतिकृया दिनुहोस