तामाकोशीको शेयर कात्तिकमा
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ भने सो साधारण शेयर कात्तिक अन्तिम साता आउने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिएका छन्।
जिल्लावासीका लागि २१ भदौसम्म शेयर जारी गरिएको थियो। शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको थियो। माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको रु एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्नेछ। स्थानीयवासीका लागि कम्पनीले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो। करीब रु तीन अर्ब बराबरको आवेदन परेको छ।
प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन्। दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतको मात्र आवेदन परेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्काशन गरेको थियो। स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयर आवेदन दिन पाउने व्यवस्था थियो।
– रासस