साताको दोस्रो दिन पनि नेप्से ओरालै
शेयर बजार परिसूचक (नेप्से) साताको दोस्रो दिन, आज पनि ८ दशमलव १० अंकले ओरालो झरेको छ ।
हिजो आइतबार नेप्से दोहोरो अंक (१० दशमलव ७१) ले घटेको थियो ।
अघिल्लो साता नेप्से ४० अंकले उकालो चढेपनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा वृद्धि एक साता पनि टिक्न सकेन ।
सोमबार नेप्से परिसूचक एक हजार २१० दशमलव ८८ अंकमा ओर्लिएको छ ।
आज ब्यांकिङ समूह ९ दशमलव ६३, विकास ब्यांक १० दशमलव २८, जलविद्युत् १० दशमलव ७५, निर्जीवन बीमा समूह ५८ दशमलव ५९ अंक तथा जीवन बीमा समूह २० दशमलव १८ अंकलले ओरालो झरे ।
सोमबार रु. २७ करोड ७४ लाख मूल्य बराबरका ११ लाख ५९ हजार २७२ कित्ता शेयरको कारोबार भएको छ ।
सोमबारको कारोबारबाट ग्रीन डेभलपमेन्ट ब्यांकका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ५२ प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ६३ प्रतिशत कमाएका छन् ।
कम्पनीहरुले प्रतिफल घोषणा गर्ने समय शुरु हुन लाग्दा पनि लगानीकर्ताहरुको मनोबल बढेको छैन ।