हेटौडा कपडा लगायत बन्द उद्योग सञ्चालनमा ल्याइने
सरकारले बन्द अवस्थामा रहेका हेटौडा कपडा, बुटवल धागो लगायतका बन्द उद्योगहरु पुन: सञ्चालन गर्ने भएको छ ।
उद्योग मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले २०५७ सालदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त लगानीमा पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।
त्यसैगरी २०६६ सालदेखि बन्द रहेको बुटवल धागो कारखाना प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने र वीरगन्ज चिनी कारखाना खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने तयारी भइरहेको मन्त्री जोशीले बताए ।
विसं २०६१ भदौदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानामा कार्यरत अधिकांश कर्मचारी तथा मजदुर अवकाशमा गइसकेका छन् भने १९३ जनाले रकम नलिएर अदालत गएका छन् ।
“मन्त्रालयले गोरखकाली रबर उद्योग र नेपाल ओरियण्ट म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ, त्यसका लागि दुई साताभित्रमा मन्त्रालयले कार्ययोजना सार्वजनिक गर्नेछ”–मन्त्री जोशीले भने ।