शेयर बजार: एक अर्बभन्दा बढीको कारोबार, नेप्से १७.७९ अङ्कले घट्याे
यो साता धितोपत्र बजारमा रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको छ। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ७९ अङ्कले घटेर अन्तिम दिन ११७८ दशमलव ५० अङ्कमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल ४४ लाख २१ हजार ९५० कित्ता शेयर खरीद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा १७ दशमलव ८४ प्रतिशत कम हो।
गत साता १८५ कम्पनीको ४५ लाख दुई हजार चार सय ५० कित्ता शेयर रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार मूल्यमा खरीद बिक्री भएका थिए।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ५४ अङ्कले घटेर २४८ दशमलव ९९ अङ्कमा आइपुगेको छ। यस साता कारोवार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको रु छ करोड ६१ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ।
यस्तै कारोबार भएको सेयरका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ। सो बैंकको दुई लाख १३ हजार कित्ता शेयर खरीद बिक्री भएका थिए। यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो।
– रासस