लोकमान नियुक्तिमा हामीले हारेको कोसँग हो ?: मन्त्री थापा
स्वास्थ्य मन्त्री गगन थापाले अख्यितार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले क्षेत्राधिकार नाघेकाले महाभियोग लगाउनु परेको बताएका छन् ।
९ कात्तिकमा व्यवस्थापिका–संसदमा महाअभियोगको प्रस्तावमा बोल्दै थापाले डा.गोविन्द केसीले चिकित्सा क्षेत्र र अन्य क्षेत्रमा अख्तियार प्रमुखले क्षेत्राधिकार नाघेर महाअभियोग लगाउन माग गर्दै आइरहेकाले व्यवस्थापिका संसदमा गम्भीर छलफल हुनु पर्ने बताए । “यो सार्वजनिक महत्वको विषय हो” थापाले पहिले दर्ता गरिएको प्रस्तावमा छलफल हुन नसकेको बताउदै अहिलेको प्रस्तावमा गम्भीर छलफल हुनु पर्ने बताए ।
प्रमुख राजनीतिक दलका नेताले कार्कीको नियुक्तिमा गम्भिर गल्ती गरेको थापाले आरोप लगाए । कांग्रेसले पनि नियुक्ति गर्दा समर्थन नगर्ने विषयमा छलफल गरिएको भएपनि अर्को दिन सहमति जनाएको बताउदै थापाले अगाडि भने, “अचानक भोलिपल्ट निर्णय भयो । हामीले हारेको कोसँग हो ? कोसँग नसकेको हो ? कोबाट नसकेको भन्न सक्नु पर्छ ।”
उनले देशको स्वभाभिमानको प्रश्न भएको बताउदै महाअभियोगको प्रस्ताव पारित गर्नु पर्ने बताए । उनले लोकमान हुबर बन्न खोजेको आरोप लगाए । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)का पूर्व प्रमुख जे. इडगर हुबर त्यहाँका राजनीतिक दलका नेताहरुलाई तर्साउदै एघार वर्ष प्रमुख बनेका थिए ।