'माननीय ज्यू तपाईँ कुन बाटो हिँड्नुहुन्छ ?'
सडकको दुरावस्था र लामो जामले राजधानी प्रवेश गर्ने मुख्य सडक कलङ्की–नागढुङ्गा छिचोल्न कम्तीमा चार घण्टा लाग्ने गरेको छ । देशका अन्य सडकको हाल पनि उस्तै छ ।
“माननीय सभापतिज्यू, तपाईं घर जाँदा कुन बाटोबाट यात्रा गर्नुहुन्छ ? डिजी साहेब, सचिवज्यू, तपार्इं त्यो बाटोबाट यात्रा गर्नुहुन्न कि ? यात्रा गरेर पनि देख्नुहुन्न ? अथवा देखेर पनि नदेखेजस्तो गर्नुहन्छ ?”
व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा समितिका सभापति रवीन्द्र अधिकारी, सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङलाई सांसद रामकुमार भट्टराई सोधे ।
तर उनीहरुले सहज रुपमा सांसद अधिकारीको प्रश्नको उत्तर दिएनन् । मुस्कुराए मात्र ।
कास्की निवासी सभापति अधिकारी आफ्नो गृह जिल्ला जाँदा–आउँदा उक्त सडकबाट आउजाउ गर्छन ।
कलङ्की–नागढुङ्गा सडक विस्तार कार्य सुस्त रुपमा चलेका कारण घन्टौँ सवारीका साधन जाममा पर्ने गर्दछ ।
उसो त कलङ्की चोकमा सुरुङ मार्ग ९अन्डरग्राउन्ड० निर्माण कार्य शुरु गर्न सडकलाई छेकबार लगाएपछि त उक्त सडकबाट आवातजावत गर्नेले झनै सास्ती ब्यहोर्नु परेको छ ।
सांसद भट्टराईले प्रश्न गरे, “जेठा दाइको त भाङ्ग्राको गति अरु भाइको के गति ? राजधानी भित्रिने सडकको त यो गति छ, कहिले भत्काएर सकिन्छ र कहिले बनिसक्ला ? लौन यसको उत्तर कुन निकायसित होला ?”
रसुवागढी सडक, पोखरा बेनी जोमसोम कोरला सडक, अरनिको राजमार्ग, कर्णाली करिडोर, चैनपुर ताक्लाकोट सडक, हुलाकी राजमार्गलगायतका सडकको विद्यमान अवस्थाका बारेमा छलफल गर्न विकास समितिको बैठकको कार्यसूची तय गरिएको थियो ।
बैठकमा सहभागी अधिकांश सांसदले राजधानीको जोड्ने नागढुङ्गा कलङ्की सडक विस्तार कार्य छिटो पूरा गर्न, राजधानीका अधिकांश सडकको अवस्था पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलो उडेर हिँडिनसक्नु अवस्था किनारा लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
समितिका सदस्य मोहन बानियाँले सडक निर्माण तथा विस्तार कार्य शुरु गर्नुपूर्व यसको समयावधि तोकिनुपर्ने र निर्धारित समयसीमाभित्र पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने विचार व्यक्त गरे ।
समितिका अर्का सदस्य प्रकाश शर्माले माटो काटेर बाटोको भुक्तानी दिने प्रवृत्तिलाई सडक विभागले रोक्न र सडकको गुणस्तरीयतामा ध्यान दिन सुझाव दिए ।
अर्का सदस्य जनार्दन ढकालले पासाङ राजमार्गमा जोडिएका दायाँ बायाँ जमिनको मुआब्जा दिन माग गर्दै बहुवर्षीय सडक ठेक्कापट्टासम्बन्धी नीतिलाई स्पष्ट गर्नुपर्ने बताए ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले मन्त्रालयले टनेल सडक, एक्सप्रेक्स सडक, मृत्युविहीन सडक, सुविधा सम्पन्न सडक, रेल यातायातमा ध्यान दिएको जानकारी दिए ।
सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्कीले विसं २०५० मा भएका इञ्जिनियर ९प्राविधिक जनशक्ति०ले सडक निर्माणमा काम गर्नु परिरहेको गुनासो राखे ।
रासस