अस्मिता: रेस्लिङ्की जुरेली
उँचाइ ५ फिट ५ इन्च, तौल ५५ किलोग्राम। झट्ट हेर्दा लाग्दैन, अस्मिता सुनार (१९) कुनै रेस्लर हुन्। उनको शालीनताले त झनै यो सम्भावना टाढा लाग्छ। तर, रिङमा उनको स्वभाव फरक छ।
त्यसो त अस्मिता मोडलिङ पृष्ठभूमिबाट आएकी हुन्। आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोमा उनको अभिनय देख्न पाइन्छ। चलचित्र भुलभुलैया मा उनी खलनायिका पनि बनिन्। तर, २०७० सालमा जसै महिला रेस्लर भगवती खड्कासँग उनको भेट भयो, बाटो बदलियो। अनि, भरतबहादुर विसुराल 'हिमालयन टाइगर' सँग रेस्लिङ–कला सिकिन्। र, अस्मिताबाट 'जुरेली' बनिन्।
तीन वर्षयता दर्जनौं पटक रिङमा उत्रिएकी उनी अब रेस्लिङमै करियर बनाउन चाहन्छिन्। तर, यसका लागि सहज छैन। नेपालमा टेलिभिजनमा रेस्लिङ हेर्ने दर्शक बढे पनि प्रतियोगिता भने कमै हुन्छ। त्यसमाथि पनि महिलाको सहभागिता न्यून छ। “नेपालमा हुने प्रतियोगिता छुटाएकी छैन” अस्मिता भन्छिन्, “अब अन्तर्राष्ट्रियस्तरमा खेल्ने रहर छ।”
रेस्लिङ खेल हो या मनोरञ्जन? धेरै झै अस्मितालाई पनि द्विविधा थियो। तर, खेल्न थालेपछि मात्र उनले गुह्य कुरो बुझिन्। “यो ७० प्रतिशत वास्तविक र बाँकी नाटक हो”, उनी भन्छिन्। उनका अनुसार, रेस्लिङलाई रोमाञ्चक बनाउन रेस्लरहरू रिहर्सल समेत गर्छन्।
मोडलिङ सजिलो कि रेस्लिङ? अस्मितालाई धेरैले गर्ने प्रश्न हो यो। तर, उनका लागि रेस्लिङ सजिलो/अप्ठेरो भन्दा पर चुनौती हो। “जीउ दुखेर हैरान हुन्छ” उनी भन्छिन्, “त्यसैले खेल अघि–पछि नियमित व्यायाम र अभ्यास जरुरी हुन्छ।”