सेनेगलकी मन्त्री बाख्रापालन हेर्न कोहलपुरमा
अफ्रिकी मुलुक सेनेगलकी पशुपंक्षी मन्त्री बाख्रा पालन अवलोकन गर्न बाँकेको कोहलपुर आइपुगेकी छन् ।
चारदिने नेपाल भ्रमणमा रहेकी मन्त्री अमिनता एम्बेंगेले आज बाँकेको महादेवपुरी ३ बुच्चापुरमा बाख्रा पालनको अवलोकनका साथै स्थानीय किसानहरुसँग कुराकानी गरेकी छन् ।
कृषकहरुले फूलमाला र बाजागाजा सहित स्वागत गरेपछि प्रफुल्ल मुद्रामा देखिएकी मन्त्री अमिनताले आफ्नो देशमा पनि यहाँको जस्तै वाख्रा पालनका लागि किसानहरुलाई उत्प्रेरित गरिने बताइन् ।
‘हेफर’द्वारा संचालित बाख्राको मूल्य शृंखला परियोजना सेनेगलमा पनि लागू गर्नका लागि सेनेगलकी पशुपंक्षी विकास मन्त्री सहितको ७ सदस्यीय टोली नेपाल भ्रमणमा आएको हेफर इन्टरनेशनल कार्यक्रमका बरिष्ठ उपाध्यक्ष महेन्द्र लोहनीले जानकारी दिए ।
मन्त्री अमिनताले अब बाँकेको फत्तेपुर, खसीबोका संकलन केन्द्र र बर्दियाको कालिकामा बाख्रापालन अवलोकन गर्ने कार्यक्रम छ ।
मन्त्री अमिनताले स्थानीय कृषकहरुको समूह ‘सगरमाथा’ लाई दुईसय डलर उपहार समेत प्रदान गरेकी छन् ।