सिनामंगलमा एयरक्राफ्ट म्यूजियम बन्ने
धनगढीमा एयरक्राफ्ट म्यूजियम बनाएका पायलट वेद उप्रेतीले काठमाडौंको सिनामंगलमा पनि एयरक्राफ्ट म्यूजियम बनाउने भएका छन् ।
उनले एयरक्राफ्ट म्यूजियम बनाउन टर्किस एयरलाईन्सको जहाजको ‘बडी’ खरिद गरेका छन् । टर्किस एयरलाइन्सको एयरबस ए–३३० त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको थियो । त्यसका इन्जिनलगायत सबै सामान एयरलाईन्सले लगेको थियो भने ‘बडी’ लग्न सकिएको थिएन ।
गत १९ फागुन, २०७१ मा इस्तानबुलबाट उडेको विमान २० फागुन बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा भएको थियो । नौ महिनामात्रै उडेको उक्त विमान काठमाडौंमा मर्मत गर्न त्यसको मूल्य भन्दा बढी खर्च लाग्ने भएपछि एयरलाइन्सले इन्जीनसहितका सामान लगेर ‘बडी’ बिक्री गरेको हो ।
एयरक्राफ्ट म्यूजिम बनाउन टर्किस एयरलाईन्सको एयरबस ए–३३० को ‘बडी’ खरिद गरेको उप्रेतीले जानकारी दिए । काठमाडौंको सिनामंगलमा स्थापना गरिने एयरक्राफ्ट म्यूजिमयम ६ महिनामा तयार हुने उनले बताएका छन् ।
यो एयरबसको लम्बाइ २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १ सय ९७ फिट रहेका छन् । यसको क्षमता ४४० यात्रु बोक्ने रहेको छ । यस अघि उप्रेतीले धनगढीमा एयरक्राफ्ट म्यूजियम बनाएका छन् ।