रिपोर्टशनिबार, २२ श्रावण , २०७३

गणागाउँ टु हार्वर्ड

सुदूरपश्चिममा जन्मेहुर्केका दीनबन्धु भट्ट (४७) यतिबेला हार्वर्ड विश्वविद्यालयको 'स्टाफ साइन्स्टिष्ट' छन्।
 

४ फागुन २०७१, बैतडीको वासुलिङ्ग गाविस–६ गणागाउँका भट्ट दम्पती अमेरिकाको विख्यात हार्वर्ड विश्वविद्यालयको भ्रमणमा थिए। दम्पतीलाई वैज्ञानिक अनुसन्धानका लागि नामी विश्वविद्यालयमा  पाइला राख्ने दुर्लभ अवसर छोरा दीनबन्धुले मिलाएका थिए। 

विश्वविद्यालय भवनको दोस्रो तला उक्लिएपछि छोरालाई पछ्याउँदै लवदेव (७२) र कलावती (७०) भट्ट एउटा भव्य कोठाभित्र पसे। दीनबन्धुले बुवाआमालाई सोफामा बस्न आग्रह गरे। तर, एकैछिनअघिसम्म हाँसिरहेकी आमा कलावतीका आँखा बोल्दाबोल्दै रसाउन थाले। उनी हिक्कहिक्क गर्दै रुन पो थालिन्। दीनबन्धु सम्हाल्न थाले।

बुवाआमा नेपाल फर्केको धेरै समयपछि दीनबन्धुले “अमेरिका घुम्दा त खुशी हुनुपर्ने, किन रुनुभएको आमा” भनेर सोधे। तर, आमाको जवाफले उनी स्वयं भावुक बने। आमाले भनिछन्, “हामीलाई त तैंले यहाँ (अमेरिका) ल्याइस्। तँलाई यो सात समुद्र पारि कसले ल्यायो होला? कसले बाटो देखायो होला? कसले खाना दियो होला? कति दिन भोकै बसिस् होला? कति दुःख पाइस् होला? कति रोइस् होला? भनेर सोच्दासोच्दै रोइहालेछु।”

सुदूरपश्चिमको गणागाउँमा जन्मेर छिमेकी गाउँ लिस्किटाबाट एसएलसी उत्तीर्ण तिनै दीनबन्धु यतिबेला हार्वर्डको  एड्भान्स टेक्नोलोजी टीममा 'स्टाफ साइन्स्टिष्ट' छन्। उनीसहितको वैज्ञानिक र विशेषज्ञको टोली ६ वर्षदेखि रक्तनलीमा जमेको रगत पगाल्ने औषधिको आविष्कार सम्बन्धी अनुसन्धानमा व्यस्त छ। मुसा र खरायोमा परीक्षण सफल भइसकेको यो अनुसन्धान अबको ६ महीनाभित्र औषधि निर्माणको तहमा पुग्ने दीनबन्धु बताउँछन्। “यो औषधिको आविष्कारले हृदयघात, पक्षघात जस्ता रगत जमेर भइरहेको आकस्मिक मृत्युबाट जोगाउँछ”, अनलाइन कुराकानीमा दीनबन्धु भन्छन्।

यसअघि हार्वर्डका प्राध्यापक डेभिड एडवार्डको नेतृत्वको क्षयरोगको खोप आविष्कार सम्बन्धी परियोजनामा पनि दीनबन्धु सहभागी थिए। सुई विना नै शरीरमा पठाउन सकिने यो औषधि अहिले निर्माणको चरणमा छ। क्षयरोग निवारणमा यो औषधिको विकासले नेपाललगायत तेस्रो विश्व लाभान्वित हुने उनको दाबी छ।

हार्वर्ड यात्रा
शिक्षक लवदेवको परिवार सामान्य थियो। त्यसैले पाँच भाइबहिनीमध्येका जेठा दीनबन्धुले काँधमा भाइबहिनीको हेरचाहदेखि घाँसदाउरा, खेतीपाती र गोठालोको कामसमेत भ्याउनुपर्थ्यो। “घरमा बस् भने पनि स्कूल जान छोड्दैनथ्यो” आमा कलावती भन्छिन्। 

आमाबुवासँगै वीस इन्ष्टिच्यूटको कार्यकक्षमा दीनबन्धु भट्ट।

नौ कक्षामा पढ्दा दीनबन्धु असाध्यै बिरामी परे। उपचारका लागि सात/आठ महीना नेपाल र भारतका विभिन्न अस्पताल पुर्‍याउनुपर्‍यो। वार्षिक परीक्षा आउने बेला सबैले 'पढ्न पाएका छैनौ, यो वर्ष परीक्षा नदेऊ' भने। तर, उनले मानेनन्। परीक्षाफल आउँदा उनी नै प्रथम भए। सधैंको प्रथमको रेकर्ड राखे।

परिवार चाहन्थ्यो, एसएलसीपछि छोरो सीमावर्ती भारतको कुनै कलेजमा पढोस्। तर, दीनबन्धुको दृष्टि काठमाडौं थियो। तर, काठमाडौंको आईएस्सी पढाइको केही महीना उनका लागि उकुसमुकुस मात्र थियो। “बैतडेली, नेपाली र हिन्दी भाषामा पढाइ हुने स्कूलबाट सीधै अंग्रेजीमा मात्र पढाइ हुने क्याम्पसमा पुग्दा महीनौंसम्म हराए जस्तो भएँ” उनी सम्झन्छन्।

राजधानीबाट बीएस्सी सिध्याएर आफू पढेकै वासुदेव माविमा ६ महीना पढाएका दीनबन्धुलाई बझाङ, बाजुरा र दार्चुलाबाट तुरुन्तै प्रधानाध्यापक बनाइदिनेसम्मका प्रस्ताव आए। तर, 'बीएस्सी सर' लोभलाग्दा आग्रहमा अल्झिएनन्। एमएस्सीको भर्ना खुल्ने बित्तिकै काठमाडौं हान्निए। “स्कूलदेखि नै शिक्षक होइन, वैज्ञानिक बन्ने सपना देख्थें”, उनी भन्छन्, “सपना पछ्याउँदै हिंडिरहें।”

स्नातकोत्तरपछि केही समय प्राध्यापनमा बिताएका दीनबन्धुले अमेरिकाको मियामी विश्वविद्यालयमा थप अध्ययनको छात्रवृत्ति पाए। पढाइ सिध्याउन नपाउँदै स्थायी बसोबासका लागि ग्रीन कार्ड 'स्पोन्सरसिप' गरिदिने शर्तमा एउटा कम्पनीले जागीरको 'अफर' गर्‍यो। तर, फेरि पनि उही सपनाले उनलाई जागीर रोज्न दिएन। पढाइ त सिध्याए तर, काम गर्ने अनुमति नपाएकाले उनी छट्पटिए। “त्यतिबेलाको दुःखको त कुरै नगरौं”, दीनबन्धु भन्छन्, “बरु जागीर खाएको भए हुन्थ्यो भन्ने सोच्थें।”

जागीर खोज्ने सिलसिलामा हार्वर्डमा आवेदन दिएका उनी पाँचौं चरणको अन्तर्वार्तापछि छानिएका थिए। “संघर्ष र दुःख मनग्ये नै थियो”, उनी भन्छन्, “हार्वर्डमा छानिनु जिन्दगीकै सबैभन्दा खुशीको दिन बन्यो।”

त्यसो त हार्वर्डमा जोडिने बेला पनि उनी दोमनमा परे। हार्वर्डको भन्दा राम्रो सुविधा दिने शर्तमा उनलाई अर्को कम्पनीले 'अफर' गर्‍यो। “तर, मैले पैसाभन्दा संसारकै ठूला विद्वान् र वैज्ञानिकसँग काम गर्न पाइने अवसरलाई रोजें”, नौ वर्षअघिको त्यो दिन सम्झँदै उनी भन्छन्।

बाँकी सपना

हार्वर्ड विश्वविद्यालयको कार्यकक्षमा दीनबन्धु भट्ट।

लामो समय अमेरिकामा बसे पनि दीनबन्धुका परिवार नेपालमै छन्। आमाबुवा गणागाउँमै बस्छन् भने दुई छोराछारीसहित श्रीमती पार्वती र भाइ पवन कैलालीको धनगढीमा छन्। 

दीनबन्धुकै भनाइमा, ६ वर्षदेखि रक्तनलीमा जमेको रगत पगाल्ने औषधि सम्बन्धी अनुसन्धानमा व्यस्त उनी अबको केही महीनापछि फुर्सदिला हुनेछन्। त्यसपछि के? “हाम्रो टीमले क्यान्सरको खोपको अनुसन्धानलाई प्राथमिकता दिएको छ”, उनी भन्छन्। त्यसो त उनी नानोटेक्नोलोजी, स्पे्रड्राइङ टेक्नोलोजी, पाउडर टेक्नोलोजी, बायोम्याटेरियल्स वा नयाँ भ्याक्सिन जस्ता विषयमा आफूलाई दक्ष ठान्छन्।

नेपालमै बसेर अनुसन्धानको काम गर्ने दीनबन्धुको अर्को सपना छ। तर, यसका लागि तत्काल स्वदेश फर्कने निर्णय भने गरिसकेका छैनन्। बरु, उनले उतै बसेरै यता औषधि सम्बन्धीको एउटा परियोजना शुरू गरिसकेका छन्। थप दुई परियोजनाका विषयमा योजना बनाइरहेका छन्। “भविष्यमा नेपालमै हार्वर्डकै जस्तो स्तरीय अनुसन्धान शुरू गर्नेे योजना छ”, उनी सुनाउँछन्।

दीनबन्धु आफ्नो सफलताको श्रेय आफ्नै निर्णय क्षमतालाई दिन्छन्। “एउटा मात्रै भिन्न निर्णयले पनि म आज अर्कै स्थानमा हुन्थें”, भावुक हुँदै उनी भन्छन्, “तर, सपनाले मलाई अन्त जान दिएन।”

दीनबन्धु हरेक तेस्रो दिन आमालाई फोन गर्छन्, र हालखबर बुझ्छन्। छोराको फोन आयो कि कलावती पहिले फोन काट्छिन्, अनि 'कल ब्याक' गर्छिन्। “उताबाट फोन गर्दा महङ्गो पर्छ रे, त्यही भएर यतैबाट गर्छु”, उनी भन्छिन्। आमाको मन राख्न पनि उनी केही भन्दैनन्।

हिमाल संवाददाता र दीनबन्धुबीचको अनलाइन कुराकानीकै बीचमा आमाको 'कल ब्याक' आयो। “रोपाईं गर्दैछौं, हात धोएर फोन गर्‍या” कलावतीले यसो भन्दै गर्दा पृष्ठभूमिबाट उनी रोपाहारले देउडा भाका सुसेली रहेको सुनिरहेका थिए।

प्रतिकृया दिनुहोस