राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ
राष्ट्रपति विद्यादेवी भण्डारीले सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा आज विशेष पूजापाठ गरेकी छन् ।
आफ्ना दुई छोरी सहित मन्दिर पुगेकी राष्ट्रपति भण्डारीले पुजापछि मन्दिर परिसरमा प्रथम पटक हुन लागेको एक हजार आठ लक्ष्यचण्डी रुद्रमहायज्ञको मण्डप शिलान्यास समेत गरिन् ।
आगामी चैत १६ गतेदेखि सो महायज्ञ सुरु हुने रुद्रमहायज्ञ समितिले जनाएको छ ।
मन्दिर परिसरमा आयोजित विशेष समारोहमा बोल्दै उनले दुई दशकदेखि मुलुकमा विद्यमान अस्थिरता, भेदभाव र द्वन्द्वले कसैलाई हित नहुने हुँदा त्यसलाई त्यागी सबैले विकासको बाटो अपनाउनुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले मन्दिरमा आफूले देशमा शान्ति र सबैको कल्याणको कामना गर्दै आराधना गरेको जानकारी भन्दै थपिन्, “छिन्नमस्ता भगवती मन्दिरको आफ्नै ऐतिहासिक तथा पौराणिक महत्व छ, यसको विकासका लागि स्थानीय निकाय र सरकारले यथाशीघ्र पहल गर्नुपर्छ ।”
समारोहमा मन्दिरका पीठाधीश महाकान्त ठाकुर र छिन्नमसता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवले राष्ट्रपतिको स्वागत गर्दै १३ बुँदे अनुरोध-पत्र बुझाएका थिए । स्थानीयका तर्फबाट राष्ट्रपतिलाई उपहार समेत दिइएको थियो ।
पीठाधीश ठाकुरका अनुसार करिब एक हजार वर्ष अगाडि राजा शक्रसिंहले जङ्गलमा सिकार खेल्ने क्रममा पोखरे गुफाबाट छिन्नमस्तादेवीको मूर्ति फेला पारेपछि सामान्य मन्दिरका रुपमा स्थापना गरेका थिए भने २०३९ सालमा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले हवाईजहाज यात्रामा दुर्घटनाबाट जोगिएको खुसियालीमा भगवतीको पक्की मन्दिर अझ ठूलो आकारमा निर्माण गराएका थिए ।
श्रवणकुमार देव, राजविराज