रियो ओलम्पिकको भव्य उद्घाटन
ब्राजिलको मराकाना रंगशालामा भव्य आतिशवाजी सहित रियो ओलम्पिक शुरु भएको छ । उदघाटन समारोहमा ब्राजिलले आफ्नो समृद्ध संस्कृति र इतिहासको भव्य प्रदर्शन गरेको छ ।
विश्वका २०० भन्दा अधिक देशका खेलाडीले उद्घाटन समारोहमा ७५ हजार दर्शक अगाडि मार्चपास गरे भने झिलिमिली उज्यालो, संगीत र नृत्यका साथ ब्राजिलको रंगिन संस्कृति र विविधताको ठूलो उत्सव मनाइयो ।
ओलम्पिकमा २०६ देशका टोली र एक शरणार्थी टोलीले कुल २८ खेलमा आफ्नो क्षमता प्रदर्शन गर्दैछन् ।
पहिलो पटक दक्षिण अमेरिकी देशमा हुन लागेको यो ओलम्पिक अघिसम्म रुसी डोपिंग विवाद, जीका भाइरस र शहरको सुरक्षा जस्ता मुद्दाका खबरहरु चर्चामा थिए ।
शरणार्थीको टोली
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यस पटक शरणार्थीहरुको टोलीलाई पनि सहभागी गराएको छ । यसले गर्दा शरणार्थीहरुमाझ पनि आशाको सञ्चार गराएको छ ।
१० सदस्यीय शरणार्थी टोलीमा दक्षिण सुडानका दुई, सिरियाका दुई, कंगोका दुई र एकजना इथियोपियका खेलाडी समावेश छन् । यो टोलीले ब्राजिलको टोलीभन्दा अगाडि ओलम्पिक झण्डा बोकेर मार्च पास गरेको छ ।
- रियो ओलम्पिकका विशेषताः
रियो ओलम्पिकमा गोल्फ खेल समावेश गरिएको छ । - ३१ औं ओलम्पिक भनिए पनि यो २८ औं ओलम्पिक हो । यसअघि सन् १९१६, १९४० र १९४४ मा विश्वयुद्धका कारण ओलम्पिक आयोजना सकेको थिएन ।
- यो ओलम्पिकमा १० हजार ५०० खेलाडी र २०७ टोली सहभागी छन् जुन नयाँ रेकर्ड हो ।
- कोसोभो र दक्षिणी सुडान पहिलो पटक ओलम्पिकमा सहभागी हुँदैछन् ।
- ५५४ खेलाडीसहित सहभागी अमेरिकी टोली सबैभन्दा ठूलो टोली हो भने १०० मिटरका धावक इटिमोनी सहभागी तुवालुको टोली सबैभन्दा सानो हो ।
- नेपालकी १३ वर्षीया स्वीमर गौरिका सिंह रियो ओलम्पिकमा सहभागी सबैभन्दा कान्छी खेलाडी हुन् ।
- रियो ओलम्पिकमा ७ जना नेपाली खेलाडी सहभागी छन् ।