एमाले अध्यक्ष ओलीको बंगलादेश भ्रमण रद्द
नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बंगलादेशको भ्रमण रद्द गरिएको छ ।
एमाले सचिव कृष्णगोपाल श्रेष्ठले ५ कात्तिकमा प्रेस विज्ञप्ती जारी गरी अध्यक्ष ओलीको बंगलादेश भ्रमण रद्द गरिएको जनाएका छन् । एमाले अध्यक्ष ओली बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणामा सो पार्टीको २० औं त्रैबार्षिक सम्मेलनमा भाग लिन ५ कात्तिकमा बंगलादेश जाने कार्यक्रम रहेको थियो ।
मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण भ्रमण स्थगित गरिएको एमाले सचिव श्रेष्ठले जनाएका छन् । यस अघि सभामुख ओनसरी घर्तीले पनि स्विट्जरल्यान्डको जेनेभा जाने भ्रमण स्थगित गरेकी थिइन ।
एमाले र माओवादी केन्द्रका १५७ जना सांसदले ३ कात्तिकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध व्यवस्थिापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता गराएका छन् । ७ कात्तिक बिहान ११ बजे संसदमा महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यक्रम तय गरिएको छ । महाभियोग प्रस्ताव दर्ता पछि अदुअआका प्रमुख आयुक्त कार्की निलम्बित भएका छन् ।