सर्वोच्च अदालतको टोलीलाई लोकमानको घरमा अवरोध
एक हुल युवाहरुको अवरोधपछि सर्वोच्च अदालतका तामेलदार नेतृत्वको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) नटाँसी फर्किएको छ। अख्तियार प्रमुखमा नियुक्ति सम्बन्धी मुद्दामा म्याद टाँस्न १ कार्तिकमा कार्कीको पुरानो बानेश्वरस्थित घर पुगेको टोलीलाई सामसङ कम्पनीको कर्मचारी बताउने समूहले म्याद टास्न नदिएको हो ।
पटक पटक बोलाउँदा पनि कार्की अनुपस्थित भएपछि अदालतले सूचना टाँस्न लागेको हो । तर कार्कीको घरमा सूचना टाँस्ने प्रयास पनि पटक पटक असफल हुँदै आएको छ । रोहवर बस्नु पर्ने वडा सचिव सरिता राई पनि त्यहाँ उपस्थित भईनन् । यसअघि पनि राईले तामेलदार टोलीलाई छक्याएकी थिइन् ।
सर्वोच्च स्रोतका अनुसार अब अदालतसँग दुई वटा विकल्प छन् । प्रहरीसँग गएर कार्कीको घरमा सूचना टाँस्ने वा सञ्चार माध्यममा सूचना प्रकाशित गर्ने ।