माईखोलामा डुङ्गा दुर्घटना हुदा पाँच जनाको मृत्यु
इलामको माईखोलामा डुङ्गा दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परि घाइते भएका ३१ जनाको उद्धार गरिएको छ भने अझै केही वेपत्ता रहेको जनाएको छ ।
२८ असोज दिउसो १ बजे इलामको दानावारीबाट महामाईतर्फ यात्रु तार्ने क्रममा डुङ्गा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सुशिल यादवले जानकारी दिए ।
एसपी यादवका अनुसार पाँच जनाको शव भेटिएको छ । उनीहरुको शनाखत हुन सकेको छैन् । दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ । अझै केही वेपत्ता रहेको जनाएको छ । “४० जना जति थिए भन्ने सूचना छ, वेपत्ता भएका हुन सक्ने थप यात्रुको खोजि गरिरहेका छौं’’ एसपी यादवले भने ।
क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । सो ढुङ्गा १५ जनाको क्षमता रहेको भएपनि ४० जनाको हाराहारीमा सवार रहेको प्रहरीले जनाएको छ । वेपत्ता रहेका यात्रुहरुको खोजीमा प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् ।
लक्ष्मी मिश्र, इलाम
लक्ष्मी गौतम, पाँचथर