पाल्पा बस दुर्घटनाः मृतकको संख्या १३ पुग्यो
पाल्पाको रम्भामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस आज, १८ जेठ विहान रम्भा गाउँपालिका– ४ हुमिनमा दुर्घटना भएको हो । दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनबाट विभिन्न सहकारीको अवलोकन भ्रमणमा जाँदै गरेको बस दुर्घटना हुँदा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरासहित संस्थाका अध्यक्षको पनि मृत्यु भएको छ ।
दुर्घटनामा परी कृष्णबहादुर बोहोरा, सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्य, तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, बसन्ती खाण, कमला कार्की, तानसेन–६ का सुशिलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु, सचिन बज्रार्चाय, गिता बुढाथोकी तानसेन–२ का लोकनाथ ढकाल रहेका छन् । मृत्यु भएका मध्ये एक महिलाको नाम खुल्न सकेको छैन ।
घाइते मध्ये १० जनाको मिशन अस्पताल तानसेन र एक जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।