चिनियाँ राष्ट्रपतिलाई उत्सुकतापूर्वक पर्खिरहेका छौंः रक्षामन्त्री खाँड
रक्षामन्त्री बालकृष्ण खाँडले सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको प्रतीक्षा गरिरहेको बताएका छन् ।
‘सातौं सियानसाङ फोरम’मा भाग लिन चीन आएका रक्षामन्त्री खाँडले नेपाली दूताबासमा २७ असोजमा आयोजित कार्यक्रममा भने, “हाम्रो मुलुकले राष्ट्रपति सीलाई उत्सुकतापूर्वक पर्खिरहेको छ, मैले चिनियाँ रक्षामन्त्रीलाई पुनः यो कुरा अवगत गराएको छु ।”
‘चाइनिज असोसिएसन फर मिलिट्री साइन्स’ र ‘द चाइनिज इन्स्टिच्युट फर इन्टरन्याशनल स्ट्राटेजिक स्टडिज’ ले संयुक्त रुपमा आयोजना गरेको फोरममा भाग लिन रक्षामन्त्री खाँडसहितको नेपाली सेनाको टोली २३ असोजमा चीन आएको थियो । २४–२६ असोजसम्म चलेको फोरममा रक्षामन्त्री खाँडले ‘अन्तर्राष्ट्रिय आतंकवादको चुनौती’ विषयमा नेपालको धारणा राखेका थिए ।
‘सुरक्षा संवाद र सहयोगमार्फत नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण’ नारा दिएर आयोजना गरिएको फोरममा ५८ देशका सुरक्षासम्बद्ध निकाय सहभागी थिए । त्यही सन्दर्भमा चिनियाँ रक्षामन्त्री छाङ वाङ्कुयाङसँग भएको भेटघाटमा रक्षामन्त्री खाँडले ‘राष्ट्रपति सी लाई नेपालमा स्वागत गर्न आफूहरु आतुर रहेको’ जानकारी गराएका थिए । “उहाँले सोही दिन (२५ असोजमा) राष्ट्रपतिसँगको भेटमा उक्त कुरा राख्छु भन्नुभयो,” खाँडले भने ।
नेपाल र चीनबीचको अन्तरसम्बन्धबारे लामो छलफल गरेको बताउँदै रक्षामन्त्री खाँडले गतवर्षको भुकम्पमा चीन सरकार र चिनियाँ सेनाले ठूलो मद्दत पु¥याएको चर्चा गरे ।
त्यसक्रममा नेपालमा संविधानसभाले जारी गरेको संविधानप्रति चीन सरकार र चिनियाँ जनताको समर्थन रहेको बताउँदै चिनियाँ समकक्षी छाङले शुभकामना दिएको रक्षामन्त्री खाँडले बताए ।
चिनिया राष्ट्रपति सी भने कम्बोडिया र बंगलादेश भ्रमणका लागि २७ असोज बिहान प्रस्थान गरेका छन् । आजै कम्बोडिया पुगेका उनले बंगलादेशको भ्रमणपछि भारतको गोवामा २९–३० असोजमा हुने ८ औं ब्रिक्स सम्मेलनमा भाग लिनेछन् । भारत भ्रमणको यही मौकामा राष्ट्रपति सी ले नेपाल भ्रमण पनि गर्ने आशा गरिएको थियो ।
तुफान न्यौपाने, बेइजिङ