‘महिला र पुरुषको असमान ज्यालाले गर्दा विश्वले गुमायो १६ सय खर्ब’
महिला र पुरुषबीचको असमान ज्यालाले विश्वले १६ सय खर्ब बराबरको सम्पत्ति गुमाएको छ । विश्व ब्यांकले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार उक्त रकम विश्वका १४१ राष्ट्रका एक व्यक्ति बराबर २३ हजार ६२० डलर पर्न आउँछ ।
विश्व ब्यांकको ‘आयमा लैंगिक असमानता’ रिपोर्टले असमान कमाई र ज्यालाका कारण विश्वले गुमाईरहेको सम्पत्ति सार्वजनिक गरेको हो ।
रिपोर्टले महिलाले पूर्ण रुपमा काममा संलग्न हुन नसकेको र पुरुष बराबर कमाउन नसकेको तथ्याङ्क बाहिर ल्याएको छ । जसले गर्दा विश्वभरका हरेक मुलुकमा त्यो देशको कुल सम्पत्तिमा महिलाहरुको योगदान ३८ प्रतिशतमा सिमित रहेको देखाएको छ, भने बाँकी ६२ प्रतिशत योगदान पुरुषको छ ।
अविकसित र अल्पविकसित राष्ट्रहरुमा महिलाको योगदान एक चौथाई पनि छैन ।
असमान ज्यालाका कारण सबैभन्दा धेरै नोक्सान व्यहोर्ने पूर्वी र मध्य एशिया, प्यासिफिक क्षेत्र र उत्तर अमेरिकाका राष्ट्रहरु छन् । यी क्षेत्रका राष्ट्रहरुले ४०० देखि ५०० खर्ब बराबरको सम्पत्ति गुमाएका छन् ।
महिलाहरुका लागि उपयुक्त भौतिक पूर्वाधार, सुरक्षा, उनीहरुको स्वास्थ्य लगायतमा ध्यान दिंदा यो असमानता हट्ने र पुरुष बराबर कमाउन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।
“आयमा भेदभाव हुँदा विश्वले निकै ठुलो मुल्य चुकाइरहेको छ ।” विश्व ब्यांककी प्रमुख कार्यकारी अधिकृत क्रिष्ट्लिना जर्जिएभा भन्छिन्– “अब प्रत्येक राष्ट्रले नीतिमा परिवर्तन गरेर महिला र पुरुषको समान ज्यालामा ध्यान दिन ढिला भइसकेको छ ।” यो भयानक तथ्यको अन्त्य गर्न हरेक राष्ट्रले महिलालाई अगाडि सारेर समान ज्याला तथा काम दिनुपर्ने र यसको नेतृत्व प्रत्येक देशका सरकार प्रमुखले गर्नुपर्ने उनको भनाइ छ ।
समान ज्याला र कामको विषयमा जि–७ राष्ट्रहरुको बैठकमा समेत छलफल भएको थियो । जि–७ राष्ट्रहरुको नेतृत्व अहिले क्यानडाले गरिरहेको छ । जसले लैंगिक असमानता र महिला सशक्तिकरणमा जोड दिएको छ ।