नेपाल–भारतबीच हवाई रुटबारे नयाँ समझदारी हुँदै
भारतले नेपाललाई उपलब्ध गराउने हवाई रुटका सम्बन्धमा दुई देशबीच नयाँ समझदारीको प्रयास अघि बढेको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुरोधमा यसबारे अध्ययन गर्न ‘एअरपोर्ट अथोरिटी अफ इण्डिया’को प्राविधिक टोली नेपाल आउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले एअरपोर्ट अथोरिटी अफ इण्डियाले जुन महीनाभित्रै प्राविधिक टोली नेपाल आउने पत्र पठाएको र चाँडै त्यसको मिति समेत तय गरिने जानकारी हिमालखबरलाई दिए ।
भारतले नेपाललाई हाल एउटा मात्र हवाई रुट उपलब्ध गराउँदै आएको छ । सिमरा नजिकै रहेको रोमियो बिन्दुबाट मात्र विभिन्न मुलुकबाट आउने उडानहरु नेपाल प्रवेश गर्छन् । भारत, हङकङ, सिंगापुर, मलेसिया, ढाका, बैंकक लगायतका ठाउँबाट आउने जहाजहरु यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् ।
नेपालले भारतसँग सिमरा बाहेक महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रुट समेत उपलब्ध गराउन लविङ गर्दै आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार, यीमध्ये भारतले महेन्द्रनगर, नेपालगञ्ज र विराटनगरको हवाई रुट उपलब्ध गराउने सम्भावना बढेर गएको छ ।
नेपाली अधिकारीहरु भैरहवाको रुट समेत पाउनेमा आशावादी छन् । किनभने, भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढिसकेको छ ।
भारतले हवाई रुटमा सहमति दिने संकेत गरेपछि सरकारले विराटनगर र नेपालगञ्ज विमानस्थलाई समेत क्षेत्रीय विमास्नस्थलका रुपमा स्तरोन्नति गर्ने प्रयास अघि बढाइसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीका अनुसार, विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको काम अघि बढिसकेको छ । आउँदो १ असारदेखि जग्गा अधिग्रहण शुरु हुनेछ ।
त्यसैगरी नेपालगञ्ज विमानस्थलमा अध्यागमन डेस्क स्थापना गर्ने तयारी हुँदैछ । यहीकारण बुद्ध एअरले विराटनगर र नेपालगञ्जबाट भारतमा सिधा उडान गर्ने तयारी अघि बढाएको छ ।