प्रदेश–५ मा सेवा–सुविधा सम्बन्धी विधेयक पारित, वडा सदस्यलाई समेत मासिक तलब
दीपक ज्ञवाली, बुटवल
प्रदेश–५ का स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी विधेयक पारित भएको छ ।
आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो । विधेयक पारित भएसँगै अब स्थानीय तहका पदाधिकारी तथा सदस्यले समेत मासिक तलब सुबिधा पाउने भएका छन् ।
जसअनुसार जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब ४१ हजार, उपमहानगरपालिका प्रमुखको ४० हजार, नगरपालिकाका प्रमुखको ३५ हजार र गाउँपालिकाका अध्यक्षले ३० हजार पाउनेछन् ।
त्यस्तै जिल्ला समन्वय समितिका उप्रमुखको ३६ हजार, उपमहानगरपालिका उपप्रमुखको ३५ हजार, नगरपालिका उपप्रमुखको ३० हजार र गाउँपालिकाका उपाध्यक्षको तलब २७ हजार तोकिएको छ ।
त्यसैगरी उपमहानगरपालिकाका वडा अध्यक्षको मासिक तलब २६ हजार, नगरपालिकाका वडा अध्यक्षको २५ हजार र गाउँपालिकाका वडा अध्यक्षको २० हजार तोकिएको छ ।
उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरुले मासिक १५ हजार, नगरपालिकाका सदस्यले १३ हजार र गाउँपालिकाका कार्यपालिका सदस्यहरुले १२ हजार पाउनेछन् ।
यस्तै सदस्यतर्फ जिल्ला समन्वय समितिका सदस्यले मासिक १६ हजार, उपमहानगरपालिकाका सदस्यले ९ हजार, नगरपालिकाका सदस्यले ८ हजार र गाउँपालिकाका सदस्यले ७ हजार मासिक तलब पाउनेछन् ।
पढ्नुहाेस् ।
जनप्रतिनिधिको ध्यान तलब–सुविधामै