राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका, प्रधानमन्त्रीले टीका लगाएनन्
बडादशैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी छन् ।
दिउँसो २ बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरुप राष्ट्रपति कार्यालय शीतल निवासमा टिका लगाउन सर्वसाधारण पुगेका छन् ।
राष्ट्रपति भण्डारीबाट प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राससलाई जानकारी दिए ।
यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गरेकी थिइन् । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिएकी थिइन् ।
प्रधानमन्त्रीले टीका लगाएनन्
प्रधानमन्त्री पुष्पकमल दाहालले बडादशैँको टीका लगाएनन् भने अरुलाई पनि लगाइदिएनन् ।
उनले दशैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर दशैँ मनाएको उनका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए ।
देउवाले पनि लगाएनन्
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दशैँको टीका लगाएनन् ।
सभापति देउवाका भतिजोको निधनका कारण टीका नलगाएको उनका सहयोगी भानु देउवाले बताए ।
रासस