उपचारको अभावमा महिलाको मृत्यु, तीन बालबालिका अलपत्र
बाजुराको बुढिनन्दा– १ साउने गाउँका तीन बालबालिका बिचल्लीमा परेका छन् ।
उपचार नपाएर आमाको मृत्यु भएको, बाबु अपांग भएका र अन्य आफन्त नभएका कारण बालबालिका बिचल्लीमा परेका हुन् ।
१० वर्षीय खगेन्द्र गिरी, ६ वर्षीया जनकला गिरी र २० महीनाका लोकेन्द्र गिरीमध्ये आमा छँदासम्म गंगा आधारभूत प्राविमा तीन कक्षामा पढिरहेका खगेन्द्रको पढाई छुटेको छ ।
जंगलबाट दाउरा ल्याउने, पानी बोक्ने, खाना पकाउने र भाई बहिनीलाई समेत स्याहार्नु पर्ने भएकोले मन हुँदाहुँदै पनि विद्यालय जान नसकेको उनले बताए । खगेन्द्रकी ६ वर्षीया बैनी जनकला पनि विद्यालय जाँदैनन् ।
“आमा हुँदा कमाई गरेर ल्याउँथिन्, अहिले बुवाले सानो भाई बोकेर गाउँगाउँबाट मागेर ल्याएको अन्न पकाएर खान्छौं,” खगेन्द्र भन्छन, “कहिले केही नहुँदा भोकै सुत्छौं ।”
शारीरिक श्रम गर्न नसक्ने बाबु शंकलाल प्रष्ट बोल्न पनि सक्दैनन् । उनीहरुको सम्पत्तिको नाममा सानो छाप्रो मात्रै छ ।
शंकलालकी श्रीमती अप्सरा विरामी परेपछि उपचारको अभावमा गत भदौमा मृत्यु भएको गाउँलेहरु बताउँछन् ।
-प्रकाश सिंह, बाजुरा