मुस्ताङमा बेमौसमी हिमपात
मुस्ताङमा हिजो, २६ वैशाख रातिदेखि बेमौसमी हिमपात भएको छ ।
साँझदेखि परेको भारी वर्षासँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ ।
वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् ।
बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताए । हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ ।
स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन् ।
बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए ।
हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पु¥याएका छन् ।
वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ ।
अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ ।
-रासस