द्रुतमार्गको डिपिआर तयार गर्न १७ कम्पनीको आवेदन
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न १७ वटा कम्पनीले आवेदन दिएका छन् ।
७६.३ किलोमीटर लामो द्रुतमार्गको डिपिआर तयार गर्न भारत, चीन, यूरोपलगायतका कम्पनीले आवेदन दिएका छन् । आवेदन दिने १७ मध्ये एउटा मात्र स्वदेशी कम्पनी छ ।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार डिपिआरका लागि प्राप्त आवेदनको अध्ययन गरी सर्ट लिष्ट तयार पार्ने काम भइरहेको छ । १५ दिनभित्र कम्पनीको टुङ्गो लाग्ने उनले बताए ।
यसअघि भारतीय निर्माण कम्पनीले तयार गरेको डिपिआर महँगो भएपछि सेनाले अर्काे डिपिआर बनाउने निर्णय लिएको थियो ।
द्रुतमार्गको चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।