डेढ वर्षमा रसुवाबाट मात्रै २२८ मेगावाट बिजुली थपिँदै
डेढ वर्षभित्र रसुवामा निर्माणाधिन जलविद्युत् आयोजनाबाट राष्ट्रिय प्रशारण लाइनमा २२८.३ मेगावाट बिजुली थपिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ (ए) र चिलिमे जलविद्युत् आयोजनाले १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । यी सबै आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जडान गरिनेछ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोलीले निर्माणाधिन आयोजनाहरुको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिएको छ ।
टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायबारेमा छलफल गरेको थियो ।
विद्युत् प्राधिकरणको लगानी र चिनियाँ एक्जिम ब्यांकको सहुलितपूर्ण ऋणमा बनिरहेको माथिल्लो त्रिशूली ३ (ए)को निर्माण २०७६ वैशाख भित्र सक्ने लक्ष्य राखिएको छ ।
रसुवागढीको निर्माण प्रगति ६० प्रतिशत छ । आयोजनाले पुस २०७६ मा विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । त्यस्तै माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमशः ७० र ६० प्रतिशत छ ।