विकट गाउँमा स्वास्थ्य शिविर
हिमाल खबरपत्रिकामा प्रकाशित रिपोर्टबाट बाजुराको बिच्छ्याँबारे जानकारी पाएपछि एक संस्थाले आयोजना गरेको बृहत स्वास्थ्य शिविरबाट बाजुरासहित हुम्ला र मुगुका दुर्गम गाउँका बिरामीले सेवा प्राप्त गरेका छन् ।
११–१७ असार २०७४ को हिमाल खबरपत्रिकामा प्रकाशित ‘यो हो बिच्छँया’ रिपोर्टमा त्यहाँको स्वास्थ्य, शिक्षा लगायतको विजोगबारे जानकारी पाएपछि कादुरी एग्रिकल्चर एड एसोसियसन/ब्रिटिश गुर्खाज पोखराले उक्त क्षेत्रको स्थलगत अध्ययन् गरी स्वास्थ्य शिविर सञ्चालन गरेको हो । संस्थाले विच्छ्याँ क्षेत्रका दुई विद्यालयको पूर्वाधारमा समेत सहयोग गरेको छ ।
हिमाली गाँउपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल यस्तो स्वास्थ्य शिविर यसक्षेत्रमा पहिलो पटक आयोजना भएको बताउँछन् ।
रिपोर्ट पढेपछि संस्थाका निर्देशक क्याप्टन राजन राई सहितको टोली बाजुराको बिच्छ्ँया पुगेको थियो ।
“हिमालमा समाचार प्रकाशित भएपछि हामी बिच्छ्याँ गयौं, त्यहाँको अवस्था निकै दर्दनाक रहेछ,” राई भन्छन्, “त्यसैले शुरुमा स्वास्थ्य शिविर सञ्चालनको निर्णय गरेका हौं ।”
९ देखि १२ वैशाखसम्म हिमाली गाँउपालिका– ६ धुलाचौरमा सञ्चालन भएको शिविरमा ३६१ दाँतका, ४२६ स्त्रीरोग सम्बन्धी, १ हजार १३० आँखाका र १ हजार ६३७ अन्य रोगका गरी ३ हजार ५३४ विरामीको उपचार गरिएको राईले जानकारी दिए । शिविरमा १०४ जनाको मोतिबिन्दूको शल्यक्रिया गरिएको थियो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले वर्षौंदेखि रोगबाट पीडितहरुले सेवा पाएको बताए ।
मोटरबाटो नपुगेको विच्छ्याँ पुग्न मार्तडीबाट सात दिन लाग्छ । कादुरी एग्रिकल्चर एड एसोसियसन÷ ब्रिटिश गुर्खाज्ले बिच्छँयाको अन्य क्षेत्रको विकासमा पनि सहयोग गर्ने तयारी भइरहेको जनाएको छ ।
अहिले उक्त संस्थाको पहलमा ‘द गोरखा वेलफेयर ट्रस्ट’ले हिमाली गाँउपालिकाका दुई वटा बिद्यालयमा शौचालय, खानेपानी र फर्निचरको व्यवस्थामा सहयोग गरेको छ ।
संस्थाका रेशमबहादुर पुन भन्छन, “पहिलो पटक दुईवटा विद्यालयमा सहयोग गरेका छांै, यो सहयोगबाट केही सकारात्मक परिवर्तन भयो भने अन्य क्षेत्रमा पनि सहयोग गर्नेछौं ।”
-प्रकाश सिंह, बाजुरा