सोनिस अवाल, वर्षः३
-मोनिका देउपाला
तीन वर्षअघिको घमाइलो मध्याह्न । भक्तपुरकी रस्मिला अवाल घरधन्दाका खत्त्याकखुत्रुक किन्न नजिकैको पसल गएकी थिइन, घरमा एक महीने छोरा सोनिस निदाएका थिए, १० वर्षीया छोरी सोनिया टेलिभिजन हेर्दै थिइन् । एक्कासी धर्ती हल्लिन थाल्यो, घर र विजुलीका पोल जोडजोडले हल्लिन थाले ।
भित्तो चर्कंदै छतबाट सिमेन्टका पाप्रा झर्न थालेपछि सोनिया अत्तालिएर बाहिर दौडिइन् । भाइ सम्झेर फेरि भित्र पसिन्, बोकेर दौडिन लाग्दा छत गल्र्यामगुर्लुम खस्यो । आफैंमाथि भित्तो खसेपछि उनको केही सीप चलेन, हातबाट भाइ फुस्कियो ।
यता पसलमा रहेकी रस्मिला अत्तालिंदैे धुलोले कुहिरी मण्डल बनेको बाटो छिचोल्दै घरतर्फ दौडिइन् । घर भग्नावशेष भइसकेको थियो । तर, नानीहरु त भित्रै थिए । रश्मिला जमिनमा डङ्ग्रङ्गै लडिन् ।
“खुट्टा लुगलुग काँपिरहेका थिए, उठ्छु, कराउँछु भन्दा बोली फुटेन,” रस्मिला सम्झिन्छिन् । केही बेरमै छिमेकीहरु जम्मा भएर भग्नावशेष खोस्रिन थाले, इँटा–माटोले च्यापिएकी सोनियाको खुट्टा देखियो । बेहोस सोनियाको उद्दार भयो । तर, सोनिस भेटिएनन् । साँझ पर्दै गयो, परकम्प बढ्दै गयो । छिमेकीहरु बाहिर खुल्लामा सुत्ने सरजाम गर्न थाले, उद्धारकर्ताहरुले पनि आश मार्न थाले ।
रात छिप्पिंदै थियो । तर, रश्मिला भग्नावशेषलाई एकोहोरो हेरिरहेकी थिइन् । भत्केको घरको थुप्रोबाट एकाएक मसिनो रुवाई उनको कानमा ठोक्कियो । उनले भनेकै दिशामा नेपाली सेनाको उद्धारटोलीले रातभर भग्नावशेष हटाइरह्यो ।
भूकम्प गएको २२ घण्टापछि धुलाम्मे सोनिस भेटिए–सकुशल ।
“त्यसबेला कस्तो लाग्यो, म भन्नै सक्दिन,” रस्मिला भन्छिन्, “काखमा कसें, मेरा सबै भाकल पूरा भए ।” बच्चाले पनि औंला चुस्दै वरिपरी नजर दौडायो– यत्रो हल्लीखल्ली किन हो झैं गरी !
उही सोनिस, अहिले तिन वर्ष पुगे । घरमा घण्टी बज्यो कि ढोकातिर दौडन्छन् । चञ्चल, जिज्ञाशु छन् । पाहुना आउँदा रमाउँछन् ।
रस्मिलाका ट्रक चालक श्रीमान दिनभर घर बाहिरै हुन्छन् । उनीहरु अहिले पनि भाडाको कोठामै गुजारा चलाइरहेका छन् । आफ्नो जग्गा अगाडिको सडक चौडा पार्ने कुरा चलिरहेकाले पनि उनीहरुलाई घर बनाउन समस्या परिरहेको छ ।
सोनिस र सोनियाको विद्यालय शिक्षाको जिम्मेवारी उद्धारमा खटिएको नेपाली सेनाले नै लिएको छ । प्राथमिक तहको पढाइ सकिएपछि सोनिस सल्लाघारीस्थित सैनिक विद्यालय जानेछन् ।
तीन वर्षअघि सोनिसको उद्दार गर्दावित्तिकै अमुल थापाले खिचेको तस्वीरले निकै चर्चा पायो । तर, यो चर्चाले खासै केही नदिएको रस्मिला बताउँछिन् । “तैपनि केही छैन, हामी सबै सँगै बस्न पाएका छौं, यही नै ठूलो हो,” रस्मिला भन्छिन् ।
सोनिससँगै अमुलको चर्चा
जमिन जोडजोडसँग हल्लिंदै गर्दा अमुल बानेश्वरस्थित आफ्नो न्यूजरुममा थिए । हतार हतार क्यामेरा ब्याग समाए र सुन्धारातर्फ लागे, जहाँ धरहरा भत्कँदा ६० जनाको ज्यान गएको थियो ।
“फोटो खिच्न छाडेर हामी उद्दारमा लाग्यौं,” अमुल सम्झिन्छन् । त्यसपछि मात्रै उनले भक्तपुरको घर सम्झिए, परिवारलाई फोन गरेर हालखबर सोधे । भक्तपुरमा ठूलो क्षति भएको र एउटा घरमा दुई बालबालिका पुरिएको थाहा पाए ।
“सेनाले भग्नावशेष खोस्रँदै थिए, मानिसहरु रुँदै प्रार्थना गरिरहेका थिए । यस्तो बेला फोटो खिच्नु हुँदैन भन्ने लाग्यो र घर गएँ,” थापा भन्छन् ।
१३ वैशाखको अर्को दिन विहान पनि सेनाले भग्नावशेष उधिन्दै थियो । भित्रबाट बच्चा रोएको आवाज सुनिएको रहेछ । करिब १० बजे ठूलो काठको दलिन मुन्तिर च्यापिएका सोनिस भेटिए । वास्तवमा भत्किएको भित्ता सोनिसमाथि पर्न त्यही दलिनले छेकिदिएको रहेछ । दलिन हटाएर सैनिक जवान दीपक राईले धुलो–माटोले छोपिएका सोनिसलाई काखमा उचाले । एकोहोरो ताली बज्न थाल्यो । रस्मिलाको आँखामा हर्षका आँशु देखिए । त्यसैबेला थापाले खिचेको फोटो हिमाल खबरपत्रिका र नेपाली टाइम्सको कभरपृष्ठमा प्रकाशित भयो ।
“मैले बच्चा र उनको परिवारको कथा सारा विश्वलाई सुनाउन पाएँ । मैले पनि राम्रै चर्चा बटुलें”, थापा भन्छन्, “यो तस्वीर मात्रै बनेन, आशा र जीवनको विम्ब पनि बन्यो ।” अहिले पनि थापा बेलाबेला अवाल परिवारलाई भेट्न जान्छन् र सकेको सहयोग गर्छन् ।