दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किलोमिटर बाँकी
डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिन तीन किलोमिटर मात्रै बाँकी छ ।
जाजरकोट–डोल्पा सडकखण्डको ११७ दशमलव ७ किलोमिटर सडकखण्डमध्ये ११४ दशमलव ७ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भइसकेको छ ।
भिर, पहरा र चट्टानका कारण निर्माणमा ढिलाई भएपनि आउँदो दशैंमा दुनैलाई सडक सञ्जालले जोड्ने गरी काम भइरहेको जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख तथा कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए ।
सेनाले निर्माणको जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रुकुमको सिमाना त्रिवेणी बजारदेखि डोल्पाकाे खदाङसम्म जीप र ट्रयाक्टर चल्न थालेका छन् ।
आइतबार संघीय सांसद सत्य पहाडीले करोपगाड–खदाङ–श्रीविण्डे चिप्लेभिर सडकखण्डको उद्घाटन गरेकी हुन् । रासस