दाङमा पशुपंक्षी बीमा गराउने बढ्दै
दाङका पशुपालक किसानहरुबीच पशुपंक्षीको बीमा गराउने चलन बढ्न थालेको छ ।
बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङमा पशुपंछी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
पशु बीमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बीमा कम्पनीलाई भुक्तानी दिने गरेको छ ।
दाङमा आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तसम्म आठ हजार ७७६ पशुपंक्षीको बीमा भएको छ । जसमा गाईभैँसी २०४, बाख्रा २९४, बंगुर ४९, कुखुरा लेयर्स एक हजार ८०० र ब्रोइलर छ हजार २२९ वटाको बीमा गरिएको छ ।
बीमा कम्पनीहरुले एउटा पशुको एक वर्षकाे लागि निर्जीवन बीमा गर्दै आएका छन् ।
कुखुराको बीमा सरदर रु ७००, उन्नत गाईको रु एक लाख ५० हजार, उन्नत भैँसीको बीमा रु एक लाख २५ हजारसम्म रहेको छ ।
पशु सेवा कार्यालयले पशुपालक किसानलाई बीमाप्रति आकर्षित गर्न सार्वजनिक सूचना प्रवाह र गोष्ठी तथा विभिन्न कार्यक्रम गर्दै आएको छ । रासस