मुमाराम खनाल नयाँ शक्तिबाट अलग
पार्टीमा अनुशासनहिनता र अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले पार्टी परित्याग गरेका छन् ।
वैकल्पिक राजनीतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आफू समावेश भएको तर ‘पार्टी सम्पूर्ण रुपमा पूर्वमाओवादी समूहका रुपमा रुपान्तरण भएकाले’ अलग हुनुपरेको खनालले जनाएका छन् ।
आज प्रेस विज्ञप्ति जारी गरी पार्टीका राजनीतिक संवाद समितिका संयोजक समेत रहेका खनालले पार्टीमा निश्चित समूहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै अपारदर्शी कर्मलाई निरन्तरता दिएको र सम्पूर्ण पार्टीको ऊर्जा पूर्वमाओवादीको आफ्नै विगतको कचिङ्गलमा मात्र खपत हुन थालेको जिकिर गरेका छन् ।
“नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन” खनालको भनाइ छ, “यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र भएको घोषणा गर्दछु ।”
'खनाललाई कारवाही गरिएको हो'
यसैवीच नयाँ शक्ति पार्टीले भने खनालले पार्टीहित विपरीत काम गरेकाले उनलाई कारवाही गरेको बताएको छ ।
खनालकाो कारवाहीबारे नयाँशक्तिले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘मुमाराम खनालले फेसवुक, इमेल, सार्वजनिक सन्जालमा पार्टी गतिविधि विरोधी स्टाटसहरू हालेकोले अनुशासनको उल्लघन भएको महशुस गरी उक्त मुद्धा अनुशासन आयोगमा पाठाएकोले र छानविनको अवधिका लागि केन्द्रीय परिषद् सदस्य रहने गरी, कार्याकारी सदस्य, राजनीतिक संवाद समितिको संयोजक,विद्यार्थीको उत्पेरकको जिम्मेवारीवाट हटाइएको छ ।’