करिब आठ लाख बालबालिका विद्यालय बाहिर
विद्यालय जाने उमेर समूहका करिब आठ लाख बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
नेपाल सरकार, शिक्षा मन्त्रालय र युनिसेफ नेपालद्वारा २० असोजमा काठमाडौंमा सार्वजनिक गरिएको नेपालमा विद्यालय नजाने बालबालिकाको स्थिति समेटिएको विस्तृत प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ५ देखि १२ वर्ष उमेर समूहका १४.३ प्रतिशत अर्थात ७ लाख ७० हजार बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।
जसमा ३५.२ प्रतिशत बालबालिका मध्य तराईका रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बारा जिल्लाको रहेको जनाएको छ । त्यस्तै २२ प्रतिशत बालबालिका पूर्वि तराईको रहेको जनाएको छ । गरिबी, जातीय पक्षसँग जोडिएका सामाजिक विभेद, शारीरिक अस्वस्थता, आप्रवासन, बालश्रम, बाल विवाह, बेचबिखन, हानिकारक सामाजिक मूल्यमान्यता र लैंगिक पक्षपात, विद्यालयको पूर्वाधार र कर्मचारीको कमजोर अवस्था, भाषिक अवरोध, प्राकृतिक विपद् तथा बन्दहड्ताल, कमजोर सुशासन तथा आर्थिक स्थितिले बालबालिका विद्यालय बाहिर रहेको उल्लेख छ ।
युनिसेफ र युनेस्को इन्स्टिच्यूट फर स्टाटिस्टीक (युआईएस)द्वारा सन २०१० मा आरम्भ गरिएको विद्यालय बाहिरका बालबालिका सम्बन्धी विश्वव्यापी अभियानकै एक भागको रुपमा ‘विद्यालयमा सबै बालबालिका’ सम्बन्धी प्रतिवेदन शिक्षामन्त्री धनीराम पौडेल र यूनिसेफका आवासिय प्रतिनिधि टोमू होजुमीले सार्वजिनक गरेका हुन ।
प्रतिवेदन सार्वजनिक गर्दै शिक्षामन्त्री पौडेलले भने “मुलुकका कानुनहरु, नीतिहरु र कार्यक्रमहरु मार्फत नेपाल सरकारले सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अथक प्रयास गरिरहेको छ ।” मन्त्री पौडेलले खुद विद्याथी भर्ना दर ९६.६ प्रतिशत रहेको र अहिले शिक्षालाई निःशुल्क गरेको र कक्षा ८ सम्म अनिवार्य बनाएको बताए ।
प्रतिबेदन सार्वजनिक समारोहमा बोल्दै यूनिसेफ नेपालका प्रतिनिधि टोमू होजुमीले भने “मेरो विश्वास छ कि प्रतिवेदनमा औल्याइएकै विद्यालय नजाने बालबालिकाको व्यक्तिगत तथा पारिवारिक विशेषताका आधारमा बढी सुसूचित नीतिहरु तयार गरिनु आवश्यक छ । जसबाट समुदाय स्तरमा रहेका विद्यालयमा बालबालिकालाई ल्यायनेतर्फ नीतिगत तहबाटै अझ बढी ठोस पहल हुनेछ ।”