तिलोत्तमा नगरमा सरसफाई अभियान
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वृहत् सरसफाई गरिएको छ ।
नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानको १३औं श्रृंखला बिहीबार सम्पन्न भएको हो ।
नगरपालिकाले हरेक महिनाको १ र १५ गते समुदायमा आधारित सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।
बिहीबार, १ चैतमा तिलोत्तमा नगरपालिकाका विभिन्न वडाका अतिरिक्त बुटवल–बेलहिया, ६ लेन सडकको योगिकुटी–मणिग्राम खण्डमा सरसफाई गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
नगरपालिकाले योगीकुटीदेखि मणिग्रामसम्मको ६ लेन सडकमा ‘मानव साङ्लो’को नाम दिएर सरसफाई गरेको थियो ।
सरसफाई अभियानमा जनप्रतिनिधिहरुका साथै कर्मचारी, विभिन्न संघ–संस्था, आमा समूह, टोल विकास संस्था, शिक्षण संस्थालगायत स्थानीय बासिन्दाको ठूलो सहभागिता रहेको थियो ।
अभियन्ताहरुले घरमा उत्पादित फोहोर घरमै व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै अभियानको स्वामित्व लिन सबैमा आग्रह गरेका छन् ।