नेपालद्वारा पिएनजी पराजित, हङकङ पराजित भए वान डे मान्यता पक्का
वान डे विश्वकप छनोट अन्तर्गत प्लेअफमा पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेपछि टीम नेपाल वान डे मान्यता नजिक पुगेको छ । जिम्बाबेमा १ चैतमा भएको खेलमा नेपाल छ विकेटले विजयी भएको हो ।
अर्को प्लेअफमा नेदरल्याण्डस्ले हङकङलाई पराजित गरे नेपालको वान डे यात्रा पक्का हुनेछ । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डस्ले हङकङलाई १७५ रनको विजय लक्ष्य दिएको छ ।
हङकङले नेदरल्याण्डस्लाई पराजित गरेको अवस्थामा भने वान डे मान्यता पाउन नेपालले पुनः हङकङलाई पराजित गर्नुपर्ने छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले २७.२ ओभरमा अलआउट हुँदै ११४ रन जोडेको थियो । नेपालले १६२ बल बाँकी छँदै लक्ष्य पुरा गरेकाे हाे ।
पिएनजीलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने र दीपेन्द्रसिं ऐरीले चार/चार तथा सोमपाल कामी र करण केसीले एक/एक विकेट लिए । पिएनजीका लागि सि। अमिनीले सर्वाधिक १९ रनको योगदान दिएका थिए ।
टीम नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले ६९ रनकाे साझेदारी गरे । तीन छक्का र एक चौका प्रहार गरेका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाए । एक चौकाको मद्दतले आरिफ शेखले २६ र टीम नेपालका कप्तान पारस खड्काले एक छक्का र एक चौका सहित २० रन जोडेका थिए ।
नेपालले सातौं स्थानका लागि ३ चैतमा हङकङ र नेदरल्याण्डस् मध्येको विजेतासँग खेल्नेछ ।