अन्तर्राष्ट्रिय चिया महोत्सव हुने
राष्ट्रिय चिया तथा कफि विकास बोर्डले डिस्कभरिङ हिडेन ट्रेजर भन्ने नाराका साथ तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव गर्ने भएको छ । काठमाडौंस्थित याक एण्ड यति होटलमा तीन दिन चल्ने महोत्सवको २३ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
विश्वस्तरको चिया ब्राण्डका रुपमा नेपाली चियालाई स्थापित गर्ने उद्धेश्यले आयोजित महोत्सवमा नेपाली चियाको ट्रेडमार्क औपचारिक रुपमा सार्वजनिक गरिने भएको छ । महोत्सवमा चिया उत्पादनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुले समेत कार्यपत्र प्रस्तुत गर्नेछन् ।
देशभरी २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । नेपालमा बार्षिक २ करोड ४० लाख किलो चिया उत्पादन हुँदै आएको छ । जसमध्ये ५५ लाख किलो चिया अर्थोडक्स छ ।