पदमै नरहेका प्रधानन्यायाधीशबाट यसरी भयो राष्ट्रपतिको शपथ
न्यायपरिषद् सचिवालयले ३० फागुनमा प्रधानन्यायधीश गोपाल पराजुली पदमा नरहेको जनाएको छ ।
परिषदका सचिव नृपध्वज निरौलाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘... यस न्यायपरिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सीटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै प्राप्त पत्र समेतका आधारमा न्यायपरिषद् ऐन २०७३ बमोजिम सम्माननिय महोदयको ६५ (पैसठ्ठी) वर्षको उमेर २०७४/४/२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिती २०७४/११/३० को सचिवस्तरिय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु ।’
न्यायपरिषद्को यो पत्र सार्वजनिक हुँदै गर्दा प्रधानन्यायाधीश पराजुली नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनियताको शपथ गराउँदै थिए । जबकी, पराजुलीलाई सम्बोधित पत्रको बोधार्थ परिषदले राष्ट्रपतिको कार्यालयसमेतलाई दिएको छ ।
नेपालको संवैधानिक–राजनीतिक इतिहासमै अनौठो बन्न गएको यो प्रकरणले राष्ट्रपतिको शपथको समय–सन्दर्भका बारेमा समेत प्रश्न उब्जाएको छ । पदमै नरहेका प्रधानन्यायाधीशबाट राष्ट्रपतिको शपथ कसरी भयो त ?
शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति कार्यालयलाई पराजुलीको पदमुक्तिबारे अनौपचारिक संकेत प्राप्त भए पनि आधिकारिक जानकारी थिएन ।
नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराउन पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानन्यायाधीश पराजुली शीतलनिवासमा उपस्थित भइसकेका थिए ।
पदमुक्त भएको अनौपचारिक चर्चा चलेपछि शीतलनिवासभित्रै पराजुलीसँग केहीबेर वार्तालाप पनि भयो । स्रोतका अनुसार, केही असहज जस्तो लागे पनि पदमुक्त प्रधानन्यायाधीशबाटै शपथ गराउने निर्णयमा राष्ट्रपति कार्यालय पुग्यो ।
न्यायपरिषद् सचिवालयबाट औपचारिक पत्र प्राप्त नभइसकेको र सम्भवतः विकसित पछिल्ला घटनाक्रमलाई स्वीकार गरेर अघि बढ्ने पराजुलीको प्रतिबद्धताका कारण राष्ट्रपति कार्यालय यो निर्णयमा पुगेको हुनसक्छ ।
राष्ट्रपति कार्यालय स्रोतका भनाइमा, ‘मुलुकलाई राष्ट्रपतिको पद बहाल आवश्यक भएकाले’ यो निर्णयमा पुगिएको हो ।
परिषदको पत्र आमसञ्चारका माध्यमा सार्वजनिक भए पनि बोधार्थ दिइएका राष्ट्रपति कार्यालयदेखि मन्त्रिपरिषदको कार्यालयसम्म नपुगेको भन्ने तर्कका आधारमा शपथको वैधानिकताको बचाउ भएपनि यो सम्पूर्ण प्रकृयाको नैतिक आवरण भने खुम्चिएको महशुस सदैव हुनेछ ।
यद्यपि, यो शपथसँगै देशले नयाँ राष्ट्रपति पाएको छ ।