दुर्गमको नमूना स्वास्थ्य चौकी
बाजुराको बूढीगंगा नगरपालिकास्थित टाँटे स्वास्थ्य चौकी दुर्गम क्षेत्रकै नमूना स्वास्थ्य संस्था बनेको छ।
२०२० सालमा स्थापित टाँटे स्वास्थ्य चौकीमा अहिले आकस्मिक रक्तसञ्चार, एक्सरे, इमर्जेन्सी, एम्बुलेन्स, ल्याब सेवाका साथै बिरामी भर्ना गरेर उपचार गर्ने सुविधा उपलब्ध छ । बाजुरा जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, टाँटे स्वास्थ्य चौकीले दिएको सेवा हिमाली र पहाडी जिल्लाकै उत्कृष्ट हो ।
स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब दीपक शाह आफैं व्यवस्थापन गरेर कुपोषण, एचआईभी परीक्षणभन्दा अघि दिइने काउन्सिलिङका लागि भीसीटी केन्द्र, प्रसूति, एम्बुलेन्स र आँखासम्बन्धी ओसीटी सेवा पनि सञ्चालन गर्दै आएको बताउँछन् ।
सरकारी दरबन्दी बाहेकका सबै व्यवस्थापन आफैं गरेको उनले बताए । “अन्य स्वास्थ्य संस्थासँगको सहकार्यमा शिविर सञ्चालन गरेर विशेषज्ञ सेवा पनि दिंदै आएका छौं” शाह भन्छन्, “जस्तो, गेटा अस्पतालको सहकार्यमा हरेक वर्ष आँखा शिविर सञ्चालन हुने गरेको छ ।”
स्वास्थ्य चौकीले राम्रो सेवा दिने भएकाले जिल्लाको तल्लो भेगमा पर्ने त्रिवेणी, छेडेदहलगायत क्षेत्रका बिरामीहरू पनि टाँटे पुग्ने गरेका छन् । स्वास्थ्य चौकीमा दैनिक ५० भन्दा बढीले सेवा लिइरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्मा जिल्लाकै राम्रा गतिविधि टाँटे स्वास्थ्य चौकीमै हुने गरेको बताउँछन् । उनको मूल्यांकनमा, स्वास्थ्य चौकीको सरसफाइ व्यवस्थापन पनि धेरै राम्रो छ ।
स्वास्थ्य चौकीले गुणस्तरीय ल्याब सेवा समेत दिइरहेको छ । स्वास्थ्य चौकीको ल्याबमा प्राथमिक स्वास्थ्य केन्द्रमा हुने सबै प्रकारको जाँच हुन्छ । एचआईभी रगत परीक्षण समेत हुने गरेको छ ।
ल्याब टेक्निसियन खड्ग बिष्टका अनुसार आवश्यक परेको बेला चौबीसै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ । यसअघि सामान्य रगत जाँचका लागि एक दिन हिंडेर अछामको बयलपाटास्थित अस्पताल जानुपथ्र्यो ।
स्वास्थ्य चौकीका इन्चार्ज शाह ल्याब र एक्सरे सुविधाले रोग निदान निकै सहज भएको बताउँछन् । उनका अनुसार, स्वास्थ्य चौकीको ल्याब सेवा सरकारी मापदण्ड अनुसार छ । ल्याब टेक्निसियनहरूको तलबको व्यवस्था स्वास्थ्य चौकीले नै गरेको छ ।
बाजुरामा पहिलो पूर्ण संस्थागत सुत्केरी वडाहरूको घोषणा पनि टाँटे स्वास्थ्य चौकीले नै गरेको छ । त्यसमा बूढीगंगा नगरपालिका ४, ५, ६ वडा र झाली गाउँ समेटिएका छन् ।
ती वडाका गर्भवतीहरू सुत्केरी हुन स्वास्थ्य चौकीमै आउने इन्चार्ज शाहले बताए । त्यसका लागि टाँटे स्वास्थ्य चौकी र झलीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । ती बर्थिङ सेन्टरमा आर्थिक वर्ष २०७३/७४ मा १६३ बच्चा जन्मिए ।
गएको साउनयता पनि सबै बच्चा बर्थिङ सेन्टरमै जन्मिएको स्वास्थ्य चौकीका इन्चार्ज शाहले बताए । उनका अनुसार, चौकीको कार्यक्षेत्रका गर्भवतीमध्ये ९५ प्रतिशतलाई सुरक्षित सुत्केरी गराएपछि पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने निर्देशिका अनुसार घोषणा गरिएको हो ।
सुदूरपश्चिमका कुनै पनि स्वास्थ्य चौकीमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन नभएको अवस्थामा निकै विकटमा रहेको टाँटे स्वास्थ्य चौकीमा यो सेवा छ ।
रगत अभावमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता भएकाले चौकीमा यो सेवा ल्याएको इन्चार्ज शाह बताउँछन् । यो सेवा संचालनमा ल्याउन स्थानीय जनता, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी र जिल्ला स्वास्थ्य कार्यालयको ठूलो सहयोग रहेको उनले बताए ।
प्रकाश सिंह, बाजुरा