लोकमान प्रकरणः सर्वोच्चलाई वडा कार्यालयको असहयोग
वडा सचिवले असहयोग गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा १५ दिने म्याद सूचना टाँस्न गएकाे सर्वोच्च अदालतका टोली सूचना नटाँसी फर्किएको छ । सर्वोच्च अदालतले ३१ भदौमा कार्कीको नियुक्ति पुनरावलोकनको लागि निस्सा प्रदान गर्ने आदेश दिएको थियो ।
अदालतको आदेश बमोजिम सूचना टाँस्न काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित कार्कीको घरमा पुगेका टोली सूचना नटाँसी फर्केकाे हाे । मुचुल्कामा सही गर्नुपर्ने वडा सचिव सरिता राई विहान वडा कार्यालयमा हाजिर भएलगत्तै सम्पर्क विहिन भएकी थिइन् ।
अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार कर्मचारीहरुले कार्कीको त्रासका कारण म्याद/सूचनाको साक्षी बस्न नमानेका हुन । उनी जिम्मेवारीबाट भाग्ने जुनसुकै कर्मचारीलाई अदालतले कानुनी कारवाही गर्न सक्ने बताउँछन् ।
लोकमानको घरमा टाँस्न लगेको सूचनाको पूर्ण विवरण:
सर्वोच्च अदालतबाट जारी भएको
फाँटः–रिट–८ पुनरावलकोन नं. 073–NF–0002
अधिवक्ता ओमप्रकाश अर्याल...............निवेदक
विरुद्ध
राष्ट्रपतिको कार्यालय, सितल निवास समेत.............. विपक्षी
मुद्धाः–उत्प्रेषणयुक्त परमादेश
का.जि.का.म.न.पा. वडा नं. १० बानेश्वर बस्ने सरकारका पूर्वमुख्य सचिव श्री लोकमान सिंह कार्कीका नाउँको १५ दिने सुचना ।
यस अदालतबाट मिति २०७३–५–३१ मा पुनरावलोकनको लागि निस्सा प्रदान गर्ने आदेश भएकोले सो आदेशको प्रतिलिपी साथै राखी जानकारीको निमित्त यो सूचना पठाइएको छ । सो मुद्दामा आफ्नो सवुद प्रमाण लिई तपाई आफैं वा ऐन बमोजिम वारेसलाई उपस्थित हुन पठाउनु होला । सूचना तामेल भएको दिनपछि मुद्दा पेशीमा चढ्न सक्नेछ ।
आज सम्वत् २०७३ साल असौज महिना ५ गते रोज ४ शुभमका दिन अदालतको छाप र मेरो दस्तखतबाट यो सूचना जारी भयो ।
अदालतको छाप उप–रजिष्ट्रार