१७ सांसद् सहभागी भएनन् राष्ट्रपति निर्वाचनमा
मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा १७ सांसद् अनुपस्थित भएका छन् ।
संघीय संसद् भवन नयाँबानेश्वरमा भएको निर्वाचनमा संघीय संसद्का चार र प्रदेशसभाका १३ सांसद् अनुपस्थित भएका हुन् ।
३३४ सदस्यीय संघीय सांसद्मध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल र रमेश यादव अनुपस्थित रहे । त्यस्तै ५५० सदस्यीय प्रदेश सांसद्मध्ये १३ जना अनुपस्थित भएका छन् ।
राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदहरु कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु उपस्थित भएनन् ।
त्यस्तै राष्ट्रियसभाका सदस्य डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलले मतदानमा भाग लिन पाएनन् । प्रतिनिधिसभा सदस्य रेशम चौधरी पनि मतदान गर्नबाट बञ्चित भए ।
निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म मतदानको समय तोकेको थियो ।
तेस्रो राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद लक्ष्मी राई चुनावी प्रतिस्पर्धामा छन् । अहिले मतगणना भइरहेको छ ।