कान्तिपुर र डा केसीको अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश नेतृत्वको इजलासले सुनुवाई गर्दै, विपक्षीका अधिवक्ताको आपत्ति
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको विवाद सम्बन्धी समाचार प्रकाशन गरेपछि कान्तिपुर विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको सुनुवाईका लागि कान्तिपुरका प्रकाशक, प्रधान सम्पादक लगायतको टोली सर्वोच्च अदालत पुगेको छ । त्यसै गरी डा केसी पनि अदालतमा उपस्थित छन् ।
डा केसीको मुद्दाको सुनवाई प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको ७ सदस्यीय बृहत पूर्ण इजलासमा हुँदैछ । बहसको शुरुमै वरिष्ठ अधिवक्ता शम्भू थापा र अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश पराजुली पक्ष भएको मुद्दामा उनी आफैं इजलाशमा बस्न नमिल्ने भन्दै आपत्ति जनाएका थिए । तर प्रधान्यायाधीश पराजुलीले उनीहरुलाई हात उठाएर बस्न आदेश दिए ।
अहिले मुद्दामा बहस भइरहेको छ ।
डाक्टर गोविन्द केसीको मुद्दाको सुनुवाई सकिएपछि कान्तिपुरले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दाको सुनुवाई हुने छ ।
मुद्दाको सुनुवाइका लागि पनि प्रधानन्यायाधीश पराजुलीकै नेतृत्वमा ७ सदस्यीय पूर्ण इजलास तोकिएको छ।
पूर्ण इजलासमा पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे सारदाप्रसाद घिमिरे, तेजबहादुर केसी छन्।
कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवाली पनि अदालत पुगेका छन्।
*सच्याइएको