कुधारे जोगाउने प्रदेश–२ को दायित्व
कमल मादेन
सिरहाको सहलेसमा पाइने गुणकारी कुधारे जोगाउने दायित्व प्रदेश–२ को वन मन्त्रालयले लिनुपर्छ।
वनस्पतिविद् डा. केशवराज राजभण्डारी र गंगादत्त भट्टले सिरहाको धार्मिक वन सहलेस फूलबारीबाट नेपालको निम्ति एक नयाँ रूख प्रजाति पत्ता लगाएका छन् । उक्त रूखलाई मैथिलीमा कुधारे भनिंदोरहेछ ।
यसको वैज्ञानिक नाम गार्सिनिया कोवा हो । फ्लोरा इन्डिका भाग २ (सन् १८३२) मा यो वनस्पति विलियम रक्सबर्घ (सन् १७५१–१८१५) ले विश्वको निम्ति नयाँ पत्ता लगाएको जानकारी छ । उक्त पुस्तक अनुसार गार्सिनिया कोवालाई भारत (हिन्दी) मा कोवा भनिन्छ भने बंगलादेशमा काउ, कोवा, काग्लिचु, काउ–गोला नामले चिनिन्छ ।
कुधारेको विशेषता
यो एक सदाबहार प्रकृतिको वनस्पति हो । यसको रूख ६ देखि १२ मिटरसम्म अग्लो हुन्छ । यो वनस्पति समुद्री सतहबाट १०० देखि १३०० मिटरसम्ममा पाइन्छ । यसका हाँगाहरू प्रायः टुप्पो नजिक झयाम्म परेका हुन्छन् ।
चार–पाँच सेन्टिमिटर चौडा र ९–१० सेन्टिमिटरसम्म लम्बाइ भएका पात झ्लक्क हेर्दा जमुना वा फडिरको जस्तो देखिन्छ । पातको भेट्नु र टुप्पो दुवैतिर साँघुरिएको हुन्छ । भेट्नु अंगे्रजी अक्षर ‘भी’ अर्थात् क्युनिएट र टुप्पोमा साँघुरिएको भाग अलि लामो एकुमिनेट प्रकृतिको हुन्छ । फागुन–चैतमा पहेंलो रंगका डाडूको टुप्पोजस्तो चारपत्रमा फुल्ने कुधारे चित्ताकर्षक देखिन्छ ।
कुधारेको भाले र पोथी फूल फरक रूखमा फुल्छ । भाले रूखमा पोथी प्रजनन् अंग (गाइनोसियम) नहुने भने होइन । भाले फूलमा गाइनोसियम भए पनि प्रजनन् प्रक्रियामा भाग लिन सक्ने अवस्थामा हुँदैनन् ।
पोथी फूलमा पनि भाले प्रजनन् अंग त हुन्छ, तर प्रजनन् प्रक्रियामा आउँदैनन् । वनस्पतिशास्त्रमा यस प्रकृतिको रूखलाई डायसियस भनिन्छ । यस्ता वनस्पतिमा कीराहरूबाट मात्र परागसेचन प्रक्रिया हुन्छ, हावाबाट एकदमै कम हुन्छ ।
तसर्थ, यस्ता भाले र पोथी रूख टाढा भए परागसेचन प्रक्रिया हुँदैन, भए पनि एकदमै कम हुन्छ । परागसेचन नहुँदा फूल फुले पनि फल लाग्दैन ।
कुधारे असार–साउनमा पाक्छ । फल ५–६ सेन्टिमिटर लामो र ४–५ सेन्टिमिटर ब्यासको डल्ले खुर्सानी आकारको हुन्छ । सुन्तले रंगमा पाकेको कुधारे अमिलो हुने भए पनि खाने गरिन्छ ।
फ्लोरा अफ चाइना भाग १३ का अनुसार यसको बीउमा ९ प्रतिशत तेलीय पदार्थ हुन्छ । विद्युतीय संजालमा उपलब्ध पुस्तक एन्नोटेटेड चेकलिष्ट अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल (२४ मार्च २०१८) अनुसार नेपालमा गार्सिनिया पेनीकुलाटा, गार्सिनिया पेन्डुकुलाटा र गार्सिनिया ज्यान्थोकिमस् गरी कुधारेका तीन प्रजाति पाइन्छन् ।
क्याटलग अफ द फ्लावरिङ प्लान्टस् भाग–२ (२०११) अनुसार भने हाम्रो राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा गार्सिनिया ज्यान्थोकिमस्को मात्र नमूना संग्रहित छ । यसको अर्थ हो, बाँकी दुई प्रजाति विदेशीले नेपालबाट संकलन गरेर जर्नलमा लेख छपाए । प्रचलन अनुसार संकलित नमूनाको एक–एक प्रति राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशालालाई दिनुपर्ने हो, तर त्यसो गरेनन् । चीनमा यो समूहको २० प्रजाति सूचीकृत छ ।
छैन वास्ता
भारत, बंगलादेश, चीन, म्यान्मार, कम्बोडिया, लाओस, भियतनाम, मलेशिया र थाइल्याण्डमा कुधारेको बहुउपयोग हुने गरेको छ । ती देशहरूमा यो वनस्पति प्रशस्तै रोपिएको जानकारी पनि पाइन्छ । थाइल्याण्डमा यसको कलिलो पात बंगुर र माछासँग मिलाएर विभिन्न परिकार बनाइन्छ ।
भारतमा कुधारेको कलिलो पातको तरकारी खाइन्छ भने फल सुकाएर रगतमासीको उपचारमा प्रयोग गरिन्छ । भारतको मिजोरममा यसको फलबाट जाम बनाइन्छ । कुधारेको फलमा पाइने हाइड्रोसाइट्रिक एसिड मोटोपन घटाउन सहायक हुने बताइन्छ । नेपालमा भने सिरहामा यसको फल खाइन्छ भन्नेसम्मको जानकारी मात्र हुनसकेको छ ।
नेपालमा वनस्पतिको खोज–अनुसन्धान सन् १८०२ बाटै हुन थालेको हो । १९४७ बाट वनस्पति विज्ञानको अध्यापन शुरू भयो । अहिले वनस्पति विज्ञानको स्नातक २९ र स्नातकोत्तर तह तीन वटा क्याम्पसमा पढाइन्छ ।
त्रिभुवन विश्वविद्यालयमा करीब २०० वनस्पतिविज्ञ अध्यापन गर्छन् भने करीब १०० वनस्पतिविज्ञ विभिन्न संघ–संस्थामा कार्यरत छन् । फ्रन्टियर्स अफ बोटानी (२०१६) पुस्तकका अनुसार ६० जना जति वनस्पतिविज्ञ वन मन्त्रालयअन्तर्गतको वनस्पति विभागमा कार्यरत छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा पनि दर्जन जति वनस्पतिविज्ञ छन् ।
फ्रन्टियर्स अफ बोटानी को ‘बोटानिष्ट इन नेपालः एन ओभरभ्यु’ लेखलाई पत्याउने हो भने गत ५० वर्षमा २०० भन्दा बढी नेपालीले वनस्पति विज्ञानमा विद्यावारिधि गरेका छन् (पृष्ठ ३२१) । नेपालमा यतिका वनस्पतिविज्ञ छन् भने नेपालका तराई र कम उँचाइका पहाडमा कुधारे पाइन्छ भनेर सन् २०१८ मा थाहा हुनु लाजमर्नु स्थिति हो ।
प्रदेश सरकारको दायित्व
दुर्लभ वनस्पति संरक्षणमा नेपालका धार्मिक वनहरूको उल्लेख्य भूमिका छ । सिरहाको सहलेसमा कुधारे जोगिनु यसैको एक दृष्टान्त हो । माथि उल्लेख भए अनुसार यो एक महत्वपूर्ण वनस्पति हो ।
यसको संरक्षण त हुनैपर्छ, सँगसँगै अन्यत्र पनि सार्नुपर्छ । औषधि कम्पनीहरूलाई यसको महत्व बढी हुनसक्छ । थाइल्याण्ड र भारतमा भइरहेको यसको प्रयोगबारे होटल व्यवसायी र आम उपभोक्ताको ध्यानाकर्षण गराउन सकिन्छ ।
नेपाल सरकारको वन नीति, २०७१ मा ‘वन, वन्यजन्तु, वनस्पति तथा पारिस्थितिकीय प्रणालीको संरक्षण, विकास र व्यवस्थापनका लागि अध्ययन अनुसन्धान गरी प्रविधिको विकास तथा उपयोग गरिनेछ’ भन्ने उल्लेख छ ।
वन नीतिले ‘संकटापन्न, दुर्लभ, लोपोन्मुख वनस्पति र वन्यजन्तुको स्व र पर–स्थानीय संरक्षण गरिने’ पनि भनेको छ । यसलाई आधार मानेर अब प्रदेश–२ को वन मन्त्रालयले कुधारेलाई जोगाउँदै बढी उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्छ । अधिकारको माग गरेर मात्र हुँदैन, दायित्व पनि बोक्न सक्नुपर्छ ।