‘विकिरणयुक्त उपकरणको जथाभावी प्रयोग भइरहेको छ’
नेपालमा अहिलेसम्म रेडियोधर्मी पदार्थ नियमन गर्ने बारेको कानून नहुँदा विकिरणयुक्त उपकरणको जथाभावी प्रयोग भइरहेको छ ।
कञ्चन अधिकारी
नेपाल जुलाई २००८ मा इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आईएईए)को सदस्य राष्ट्र बनेपछि रेडियोविकिरणको सुरक्षाका बारेमा बनेका नियम अनिवार्य लागू गर्नुपथ्र्यो तर, आईएईएले सहयोग स्वरुप नेपाललाई दिएको थर्मोलुमिनेसेन्ट डोजिमिटर (टिएलडी) को समेत उपयोग हुन सकेको छैन । यो उपकरणले बिरामी र अस्पतालका कर्मचारीमा परेको विकिरण प्रभाव मापन गर्छ ।
रेडियोलोजी सम्बन्धी उपकरण सञ्चालनमा लापरवाही र सिकारु व्यक्तिले काम गर्दा रेडियो विकिरण प्रसारण गर्ने यन्त्रको असुरक्षित प्रयोग बढीरहेको छ ।
यस्ता उपकरण सञ्चालन गर्दा एकपटकमा कति रेडियसन निष्कासन भयोे र त्यसमध्ये व्यक्तिको शरीरमा त्यसले कति प्रभाव पा¥यो भन्ने रेकर्ड राख्नुपर्ने भए पनि यसक्षेत्रमा कार्यरत ७० प्रतिशतभन्दा बढी जनशक्तिले टिएलडी डोजिमिटर उपकरणको प्रयोग गरिरहेका छैनन् ।
रेडियसन सम्बन्धी ज्ञान नभएका व्यक्तिले यस्ता उपकरण सञ्चालन गर्दा वा आवश्यक सावधानी नअपनाउँदा बिरामी तथा कुरुवाहरुमा आनावश्यक रुपमा रेडियो विकिरणको ‘एक्सपोजर’ हुनपुग्छ ।
अधिकांश अस्पतालमा रेडियोविकिरण सुरक्षाको मापदण्ड नै पूरा गरिएको छैन । विकिरणयुक्त उपकरण प्रयोग भइरहेका ठाउँको अनुगमन गर्ने परिपाटी पनि छैन । काठमाडौं उपत्यका बाहिर विकिरण भएका उपकरण प्रयोगको अवस्था झनै नाजुक छ । गुणस्तर नियन्त्रणका लागि कतै पनि प्रयास भएको छैन ।
विकिरणयुक्त उपकरण राख्ने कोठाको ‘सेफ्टी एसेस्मेन्ट’ नगरिएको, कोठाभन्दा बाहिर चुहावट हुने विकिरण र बिरामीमा त्यसको असरबारे एसेस्मेन्ट गर्न ‘रेडियसन प्रोटेक्सन सर्भे’ गर्नुपर्छ । तर नेपालमा यस्ता सुरक्षात्मक उपाय गरिएको पाइँदैन ।
एक्सरे, सीटी स्क्यान जस्ता विकिरण निकाल्ने उपकरणको गुणस्तर जाँच गरिएको छैन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपकरणले दिने विकिरणको क्षमता जाँच्न कमिसनिङ र ‘एस्प्टेन्स टेस्ट’ गर्नैपर्छ ।
विभिन्न उपकरणको मद्दत्तबाट विदेशबाट आयात गरेका स्वास्थ्य उपकरणको विकिरण एक्स्पोजर क्षमता जाँच्नुपर्छ । एक्सरेको ट्युबबाट रेडियोविकिरण चुहावट भए/नभएको जाँच्ने काम हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार एक्सरे, सिटी स्क्यान जस्ता उपकरणबाट स्वास्थ्य जाँच गर्दा बिरामीले कति मात्रामा विकिरण पाए भन्ने बारेको जानकारि दिनुपर्छ । तर नेपालमा यसको अभ्यास नै छैन । विकिरण जाँच्न कानूनले बाध्य नबनाएकाले बेथिति गर्ने छुट पाइरहेका छन् ।
भूकम्पपछि धेरै अस्पतालमा क्षती पुगेको छ र ती ठाउँबाट पनि रेडियसन लिक भएको हुनसक्छ । विकिरणयुक्त उपकरण भएका ९५ प्रतिशत ठाउँमा गुणस्तर नियन्त्रणको काम नै भएको छैन । नेपालमा रेडियोथेरापी अलि व्यवस्थित भए पनि डायग्नोस्टिक रेडियोलोजीमा धेरै समस्या छ ।
उपकरणको गुणस्तर सुनिश्चितता गरियो भने पुराना उपकरणलाई मर्मत गरेर संञ्चालन गर्न सकिन्छ । तर यसो नगरी स्वास्थ्य मन्त्रालयले उपकरण खरिद गर्दै थन्काइरहेको छ । यस्तै, विकिरणयुक्त उपकरण सञ्चालन गर्नेहरुलाई लाइसेन्सको व्यवस्था नहुँदा कहाँ र कति परिमाणमा यस्ता उपकरण प्रयोग भइरहेका छन् भन्ने बारेको सूचना छैन ।
विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको मापदण्ड अनुसार नेपालमा रेडियसनका उपकरणको प्रयोग गर्नु अघि अनुमति लिनुपर्ने प्रावधान भए पनि कार्यान्वयन हुन सकेको छैन ।
विज्ञान मन्त्रालयले गरेको एक अनुगनका क्रममा एउटै घरमा तीनदेखि चार वटासम्म डेन्टल एक्सरे राखेको पाइएको थियो । एक्सरे गर्ने व्यक्तिहरुलाई एक पटकमा तीन पटकसम्म एक्सरे गर्नु हुँदैन । तर व्यापारीले बिरामीको शरिरलाई प्रयोगशाला बनाएर अनावश्यक विकिरण दिने काम भइरहेको छ ।
व्यक्तिमा विकिरणको प्रभाव धेरै भएमा वान्ता हुने, शरीरमा श्वेत रक्त कोषिकाहरु कम हुने जस्ता समस्या देखिन्छन् । धेरै समयसम्म रेडियसन एक्सपोज भइरहे क्यान्सर रोग लाग्ने सम्भावना हुनुका साथै डिएनएलाई क्षति पु¥याई आनुवांशिक परिवर्तन हुन्छ ।
त्यसैले रेडियोग्राफर, रेडियोलोजिष्ट, कार्डियोलोजिस्ट, फिजिसिस्ट, रेडियसन अंकोलोजिस्ट, न्युक्लियर फिजिसियन र रेडियसनमा काम गर्ने नर्सले अनिवार्य टिएलडी लगाउनु पर्छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयले तीन वर्षअघि संसदमा पेश गरेको ऐनमा परमाणु सुरक्षाको विषयलाई प्राथमिकतामा राखिएको छैन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रेडियोविकिरणको नियमन गर्ने निकाय सिधै प्रधानमन्त्रीको मातहत रहने गरी प्राधिकरण बनाउने व्यवस्था छ ।
तर मन्त्रालयले तयार पारेको पारमाणविक विधेयकमा विकिरणको नियमन गर्न विभाग बनाउने भनेर प्रस्ताव गरिएको छ । प्राधिकरण बनाउनेबारे मन्त्रालयमा छलफल भए पनि तत्कालीन सचिवले विभाग बनाउने व्यवस्था राखे ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का मेडिकल फिजिक्सका सह–प्रध्यापक अधिकारीसँग रामु सापकोटाले गरेको कुराकानी ।